सन्दकपुर (इलाम) । इलामको सन्दकपुर गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा आर्थिक रूपमा विपन्न बिरामीलाई लक्षित गर्दै घर टोलमै स्वास्थ्य जाँच तथा उपचार सेवा सञ्चालन शुरु भएको छ । स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ नागरिकलाई घरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाले २३ वटा उपचार केन्द्र निर्धारण गरी सेवा सञ्चालन गरेको हो ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गका अनुसार कार्यतालिका नै बनाएर वृद्धवृद्धा र अशक्तको स्वास्थ्य जाँचलाई प्राथमिकताका साथ सेवा संचालन गरिएको हो । ५ वटै वडामा संचालन हुने स्वास्थ्य जाँच र उपचार सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न गाउँपालिकामा रहेको सबै स्वास्थ्य जनशक्ति परिचालन भएका छन् । स्वास्थ्य जाँच तथा उपचार सेवा वडा नं १ मा प्रत्येक महिनाको १६ गतेदेखि २० गतेसम्म स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान हुँदैछ । ज्येष्ठ नागरिक, अशक्त तथा आर्थिक रूपमा विपन्न बिरामीलाई लक्षित गर्दै घर टोलमै स्वास्थ्य जाँच तथा उपचार सेवा दिन वडा नं १ र २ मा पाँच–पाँच, वडा नं ३ र ४ मा चार–चार तथा वडा नं मा ५ मा पाँचवटा उपचार केन्द्र निर्धारण गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनकुमार लिम्बुले बताए ।
कार्यक्रम अन्तरगत टोल र वडा क्षेत्रमा रहेका सबै जेष्ठ नागरिकलाई नजिकको केन्द्रमा पुगेर सेवा प्रदान गरिने र केन्द्रसम्म नपुग्ने जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यकर्मीले उपचार सेवा दिने गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
स्वास्थ्यकर्मीले बिरामीको रक्तचाप जाँच, पिसाब परीक्षण तथा रगत परीक्षणबाट मधुमेह पहिचान गरिनेछन् । त्यस्तै, दमका बिरामी र अन्य दीर्घरोगीको स्वास्थ्य परीक्षणसमेत गरि औषधि समेत वितरण गरिँदै आएको छ ।
स्वास्थ्य जाँचसँगै बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । उच्च रक्तचापका बिरामीलाई एम्लोडिपिन, मधुमेहका बिरामीलाई मेटफर्मिन तथा दमका बिरामीलाई साल्बुटामोल औषधि वितरण गरिनेछ । यसका अतिरिक्त पारासिटामोल, भिटामिन बी कम्प्लेक्स, आवश्यक एन्टिबायोटिकलगायत प्राथमिक उपचारका औषधिसमेत स्वास्थ्यकर्मीले उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख मनोज धुरजारले बताए । यो कार्यक्रम चालु आर्थिक वर्षको कात्तिक महिनाबाट संचालन भएको हो ।
विशेषगरी उमेरका कारण हिँडडुल गर्न नसक्ने, शारीरिक रूपमा अशक्त रहेका तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट सामान्य स्वास्थ्य समस्या पहिचान तथा दीर्घरोगको नियमित निगरानीमा हुनेछ ।
गाउँपालिकाले स्वास्थ्य चौकीमार्फत स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । कार्यक्रमले ग्रामीण तथा दुर्गम बस्तीका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुका साथै उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
स्वास्थ्य केन्द्रबाट जेष्ठ नागरिकले पाउनेछन् यस्तो सेवा
गाउँपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, गरिब तथा अशक्त बिरामीलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाउँनेछन् । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने बिरामीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
कार्यक्रमअन्तर्गत बिरामीको घरमै पुगेर रक्तचाप परीक्षण, पिसाब तथा रगतको जाँच गरिनेछ। पिसाब परीक्षणमार्फत प्रोटिन, एल्बुमिन तथा मधुमेहसम्बन्धी जाँच गरिनेछ भने रगत परीक्षणबाट समेत मधुमेहको अवस्था पहिचान गरिनेछ ।
त्यसैगरी, दमका बिरामी तथा अन्य दीर्घरोगबाट पीडित बिरामीको स्वास्थ्य परीक्षण र आवश्यक उपचार सेवा प्रदान गरिनेछ। स्वास्थ्य परीक्षणसँगै बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत उच्च रक्तचापका बिरामीलाई एम्लोडिपिन ५ र १० मिलिग्रामको , मधुमेहका बिरामीलाई मेटफर्मिन ५०० र १००० मिलिग्रामको तथा दमका बिरामीलाई साल्बुटामोल ४ मिलिग्रामको औषधि निःशुल्क वितरण शुरु भएको हो ।
त्यस्तै, प्राथमिक उपचारका लागि पारासिटामोल, भिटामिन बी कम्प्लेक्स, आवश्यकताअनुसार एन्टिबायोटिक लगायतका औषधि पनि स्वास्थ्यकर्मीमार्फत उपलब्ध गराउन शुरु भएको हो । घरमै स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने यस कार्यक्रमले स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक, अशक्त, विपन्न तथा दीर्घरोगी बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।