Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा कुकुर–बिरालो बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान

सन्दकपुरमा कुकुर–बिरालो बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज १० २०८३


सन्दकपुरमा कुकुर–बिरालो बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान

इलाम । सामुदायिक कुकुर तथा बिरालोको अनियन्त्रित संख्या नियन्त्रण र रेबिज रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। थर्ड पोल संरक्षण संस्था नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा उच्च पहाडी संस्था, इलाम र सन्दकपुर गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको अभियानअन्तर्गत जमुनाको ताल गाउँ, घुम्ती डाँडा क्षेत्र तथा त्रिमिलन–मझुवा टोलमा शिविर सम्पन्न भएको छ।

अभियानअन्तर्गत सामुदायिक तथा छाडा कुकुर र बिरालोको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको आयोजकले जनाएको छ। अनियन्त्रित रूपमा बढिरहेको सामुदायिक कुकुरको संख्या व्यवस्थापन, रेबिज संक्रमणको जोखिम घटाउने तथा मानव, घरपालुवा जनावर र वन्यजन्तुबीच हुन सक्ने सम्भावित द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सन्दकपुर गाउँपालिका ५ का वडा सदस्य कुमार गुरुङ्गले बताए ।

बन्ध्याकरण तथा खोप कार्यक्रमलाई ‘क्याच, न्युटर, भ्याक्सिनेट एन्ड रिलिज’ (CNVR) अर्थात् समात्ने, बन्ध्याकरण गर्ने, खोप लगाउने र पुनः सोही क्षेत्रमा छाड्ने विधिमा आधारित बनाइएको छ। यसबाट सामुदायिक कुकुरको प्रजनन दर नियन्त्रणसँगै रेबिज संक्रमणको जोखिम घटाउन सहयोग पुग्ने आयोजकको भनाइ छ।

सामुदायिक कुकुरको संख्या नियन्त्रण र खोप कार्यक्रम वन्यजन्तु संरक्षणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको संरक्षणकर्मीहरूको भनाइ छ। बस्ती तथा वन क्षेत्रबीच आवतजावत गर्ने छाडा कुकुरबाट वन्यजन्तुमा रोग सर्ने, लखेट्ने वा प्राकृतिक गतिविधिमा अवरोध पुग्ने जोखिम रहने भएकाले कुकुर व्यवस्थापन आवश्यक रहेको उनीहरूले बताएका छन्।

विशेषगरी पूर्वी नेपालमा ध्वाँसे चितुवा, छिर्बिरे बिरालो, सुनौलो बिरालो र चितुवा बिरालोजस्ता साना जंगली बिरालोका प्रजाति पाइने भएकाले यस्ता प्रजातिको बासस्थान आसपास सामुदायिक कुकुर व्यवस्थापनलाई संरक्षणको महत्वपूर्ण पक्षका रूपमा हेरिएको  तेस्रो ध्रुब संरक्षण समाजका कार्यकारी निर्देशक गंगा रेग्मीले बताए ।

अभियानअन्तर्गत २०८३ असोज ११ गते तीनघरे क्षेत्रस्थित श्री पूर्वक्षितिज माध्यमिक विद्यालयको भवनमा शिविर सञ्चालन हुने भएको छ। त्यस्तै असोज १२ गते सोमबार इङ्लामा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजकले सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, कुकुर तथा बिरालो पालक र सम्पूर्ण सरोकारवालालाई अभियानमा सहयोग तथा सहभागिताका लागि आग्रह गरेको छ। अभियानमा Mountain Organization Nepal, Clouded Leopard Working Group, Third Pole Conservancy, Small Wild Cat Conservation Foundation (SWCCF) तथा The Mohamed bin Zayed Species Conservation Fund लगायतका संस्थाको सहयोग रहेको जनाइएको छ। ५ दिनसम्म संचालन हुने कार्यक्रममा ४२ वटा कुकुर विरालोको बध्याकरण र २९ वटा कुकुर बिरालोमा रेबीज रोग बिरुद्धको खोप लगाइएको हो ।

सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप भनेको के हो?

• सामुदायिक तथा छाडा कुकुरहरूको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम कुकुरको संख्या व्यवस्थापन तथा रेबिज नियन्त्रणका लागि सञ्चालन गरिने कार्यक्रम हो। यसलाई प्रायः CNVR (Catch, Neuter, Vaccinate and Release) अर्थात् समात्ने, बन्ध्याकरण गर्ने, खोप लगाउने र पुनः सोही स्थानमा छाड्ने विधिका रूपमा सञ्चालन गरिन्छ।

• यस कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक कुकुरहरूको अनियन्त्रित प्रजनन रोक्नु, रेबिजको जोखिम कम गर्नु तथा मानव, कुकुर तथा वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्नु हो। नियमित रूपमा बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउँदा कुकुरहरूको प्रजनन नियन्त्रण हुनुका साथै उनीहरूको स्वास्थ्यमा समेत सुधार हुन्छ। यसले दीर्घकालमा सामुदायिक कुकुरहरूको संख्या व्यवस्थित तरिकाले नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

साना जंगली बिरालो तथा अन्य वन्यजन्तु संरक्षणका लागि यो किन महत्वपूर्ण छ ?

• सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण तथा खोप कार्यक्रमले सामुदायिक कुकुरहरूको अनियन्त्रित प्रजनन रोक्न र समयसँगै उनीहरूको संख्या नियन्त्रण गर्न सहयोग गर्छ।

• सामुदायिक तथा छाडा कुकुरहरू मानव बस्ती र वन क्षेत्रबीच आवतजावत गर्दा उनीहरूको वन्यजन्तुसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुन सक्छ। यस्तो सम्पर्कबाट रेबिजलगायत विभिन्न संक्रामक रोग वन्यजन्तु, घरपालुवा जनावर र स्थानीय समुदायमा सर्ने जोखिम रहन्छ। विशेषगरी साना जंगली बिरालो तथा अन्य वन्यजन्तुमा छाडा कुकुरबाट सर्ने रोगको जोखिम उच्च हुन्छ। यस्ता कुकुरलाई नियमित रूपमा रेबिजविरुद्ध खोप लगाउँदा वन्यजन्तु तथा घरपालुवा जनावरमा रेबिज सर्ने जोखिम कम गर्न सहयोग पुग्छ।

• त्यसैगरी, बन्ध्याकरण विधिबाट संख्या नियन्त्रण हुँदा जंगलमा वन्यजन्तुलाई लखेट्ने, आक्रमण गर्ने तथा उनीहरूको प्राकृतिक गतिविधिमा अवरोध पु¥याउने घटना कम गर्न सकिन्छ। यसले वन्यजन्तुहरूलाई आफ्नो बासस्थान, आहार खोज्ने क्षेत्र तथा आवतजावत गर्ने बाटो सुरक्षित रूपमा प्रयोग गर्न सहयोग पुर्‍याउँछ। त्यसैले सामुदायिक कुकुरहरूको बन्ध्याकरण र रेबिजविरुद्धको खोप कार्यक्रमले कुकुरको संख्या व्यवस्थापन र रोग नियन्त्रणसँगै साना जंगली बिरालो तथा अन्य वन्यजन्तुको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ।

पूर्वी नेपाल र जैविक विविधता

• पूर्वी नेपाल साना जंगली बिरालाहरूको विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र हो। यस क्षेत्रमा ध्वाँसे चितुवा (Clouded leopard), छिर्बिरे बिरालो (Marbled cat), सुनौलो बिरालो (Asian golden cat) र चितुवा बिरालो (Leopard cat) जस्ता दुर्लभ तथा लजालु स्वभावका जंगली बिरालो प्रजातिहरू पाइन्छन्। यहाँको भौगोलिक विविधता, मनसुनी वर्षा, सिमसार गएका घना तथा ओसिला वनहरूका कारण यी प्रजातिहरूसहित अन्य वन्यजन्तुका लागि पूर्वी नेपाल एक महत्वपूर्ण बासस्थान र आवतजावतका क्षेत्रको रूपमा रहेको छ।

• संरक्षित क्षेत्रबाहिर समेत यस्ता महत्वपूर्ण बासस्थानको उपलब्धताले पूर्वी नेपाललाई साना जंगली बिरालो तथा अन्य दुर्लभ वन्यजन्तुको दीर्घकालीन संरक्षणका लागि महत्वपूर्ण क्षेत्र बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार