Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

थेवे (लिम्बू) किपट संरक्षण ऐन कार्यान्वयनबारे इलामको सन्दकपुरमा अन्तरक्रिया

थेवे (लिम्बू) किपट संरक्षण ऐन कार्यान्वयनबारे इलामको सन्दकपुरमा अन्तरक्रिया

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज ९ २०८३


थेवे (लिम्बू) किपट संरक्षण ऐन कार्यान्वयनबारे इलामको सन्दकपुरमा अन्तरक्रिया

इलाम : सन्दकपुर गाउँपालिकाले जारी गरेको थेबे ९लिम्बू० किपट प्रथाजनित संरक्षित वन, जैविक विविधता (वन, वातावरण, पर्यावरण) संरक्षण तथा पर्यापर्यटन ऐन, २०८१ को प्रभावकारी कार्यान्वयन तथा किपटको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्व संरक्षणका विषयमा बिहीबार इलामको सन्दकपुरमा अन्तरक्रिया गरिएको छ ।

आदिवासी जनजाति मानव अधिकारसम्बन्धी वकिलहरूको संस्था (लाहुर्निप) र सन्दकपुर गाउँपालिकाको सहकार्यमा तुम्याहाङ परिषद्को आयोजनामा अन्तरक्रिया भएको हो । कार्यक्रममा ऐन कार्यान्वयनको अवस्था, किपट सञ्चालन प्रक्रिया, किपट क्षेत्रको सीमा तथा चारकिल्ला, स्थानीय समुदायको भूमिका र आगामी योजनाका विषयमा छलफल गरिएको हो ।

तुम्याहाङ परिषद्का अध्यक्ष रुद्र थेवेको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली मगर, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, वडा नं. ३ का अध्यक्ष लिलबहादुर बुर्जा, वडा नं. ४ का अध्यक्ष ढालबहादुर गुरुङ र वडा नं. ५ का अध्यक्ष यज्ञबहादुर गुरुङसहित कार्यपालिकाका सदस्य र वडा सदस्यहरुको सहभागिता थियो ।

त्यस्तै नेपाली कांग्रेस सभापति धनबहादुर खाम्दाक, नेकपा (एमाले) अध्यक्ष दीपक गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष श्याकुमार राई, नेपाल पत्रकार महासंघका निवर्तमान सभापति विप्लव भट्टराई, राष्ट्रिय समाचार समिति इलाम समाचारदाता राम योङहाङलगायत विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति थियो ।

कार्यक्रममा थेवे (लिम्बू) किपटको ऐतिहासिकता, किपट संरक्षणको आवश्यकता तथा सन्दकपुर गाउँपालिकाले जारी गरेको ऐनको उद्देश्यबारे छलफल गरिएको थियो । सहभागीले किपट केवल भूमि स्वामित्वको विषय नभई परम्परागत भूमि अधिकार, प्राकृतिक स्रोतको उपयोग, सामुदायिक व्यवस्थापन, प्रथाजनित शासन तथा सांस्कृतिक सम्बन्धसँग जोडिएको विषय भएको धारणा राखेका थिए ।

कार्यक्रममा किपट संरक्षणसँगै स्थानीय प्राकृतिक स्रोतको सामुदायिक व्यवस्थापन, वन तथा पानीको उपयोग, स्थानीय नियम तथा नेतृत्व र अधिकारसँगै समुदायको जिम्मेवारीका विषयमा समेत छलफल भएको थियो । किपट संरक्षणले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा जोगाउन, परम्परागत अभ्यास र मौलिक ज्ञानलाई निरन्तरता दिन तथा भावी पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने सहभागीको भनाइ थियो ।

ऐनले तुम्याहाङ परिषद्को संरचना सम्बन्धि व्यवस्था गरेको छ । परिषद्मा थेवे किपट क्षेत्रभित्रबाट चयन हुने समुदायको प्रतिनिधि अध्यक्षका रुपमा रहने तथा किपट क्षेत्रमा बसोबास गर्ने समुदायका सदस्य, सन्दकपुर गाउँपालिकाका प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष, किपट वनमा आश्रित समुदायका सदस्य, किरात याक्थुङ चुम्लुङका प्रतिनिधि, थेवे थरगत समुदाय र आदिवासी जनजाति महासंघका प्रतिनिधिलगायतको सहभागिता रहने व्यवस्था उल्लेख छ ।

ऐनमा थेवे (लिम्बू) किपटको सञ्चालन तुम्याहाङ परिषद्ले गर्ने, सञ्चालन, संरक्षण तथा उपभोग सामुदायिक रुपमा रहने र स्थानीय सरकार संरक्षक रहने व्यवस्था छ । किपटबाट प्राप्त राजस्वको ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत तुम्याहाङ परिषद्मा रहने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ । कार्यक्रममा किपट क्षेत्रभित्र बसोबास गर्ने समुदायसँग किपटको फाइदा, किपट किन आवश्यक छ, सञ्चालन प्रक्रिया, आगामी योजना र समुदायको भूमिकाका विषयमा निरन्तर छलफल आवश्यक रहेको सहभागीको भनाइ थियो ।

तुम्याहाङ परिषद्ले थेवे (लिम्बू) किपटलाई व्यवस्थित र नमुनाका रुपमा विकास गर्ने, रेडपाण्डा पर्यटनलाई व्यवस्थित गर्ने, चोरीसिकारी तथा चोरी निकासी नियन्त्रणका लागि सचेतना फैलाउने र विभिन्न संघसंस्थासँग समन्वय गर्ने गतिविधि अघि बढाइरहेको उल्लेख गरेको छ । त्यस्तै स्थानीयस्तरमा बेमौसमी तरकारी खेती प्रवर्द्धन, मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि बाख्राखोर निर्माणमा सहयोग, पशुपक्षी तथा खेतीबालीको बीमा र क्षतिका लागि कोष निर्माणको तयारीलगायत गतिविधि पनि अघि बढाइएको उल्लेख छ ।

छलफलका क्रममा किपटको संरक्षणसँगै स्थानीय समुदायको जीवनयापन, संस्कृति र प्रकृतिबीचको सम्बन्धलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो । किपट रहँदा त्यससँग जोडिएको सांस्कृतिक तथा ऐतिहासिक पहिचान संरक्षण हुने र समुदायका लागि प्रथाजनित किपटको उचित व्यवस्थापन आवश्यक रहेको तुम्याहाङ परिषद अध्यक्ष थेवेले बताए ।

सहभागीहरुले ऐन जारी गर्नु मात्र पर्याप्त नभई त्यसको कार्यान्वयनका लागि स्थानीय सरकार, तुम्याहाङ परिषद्, किपट क्षेत्रभित्रका समुदाय तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याएका छन् । किपटको सीमा, अधिकार, उपयोग, संरक्षण र समुदायको भूमिकालाई स्पष्ट बनाउँदै ऐन कार्यान्वयनलाई अघि बढाउन सरोकारवालाहरुको सुझाव छ । हाल सन्दकपुर गाउँपालिका-४ माबु र ५ जमुना क्षेत्रमा रहेको थेवे किपट क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक महत्वको क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुको जोड थियो ।

यसैबीच कार्यक्रममा थाइल्याण्डको च्याङमाइमा भएको अन्तराष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रमको अनुभव समेत आदानप्रदान भएको थियो । एआईपीपीको केन्द्रीय कार्यालय च्याङमाइमा थेबे लिम्बू किपटको संरक्षण तथा प्रवर्धनका लागि आवश्यक कानुनी व्यवस्थाका सम्बन्धमा विस्तृत छलफल तथा अन्तरक्रियाको विषयमा गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष लुङ्गेली, मुन्धुमविद् मोहनसिंह थेवे, ४ नं. वडा अध्यक्ष ढालबहादुर गुरुङ र ५ नं. वडा अध्यक्ष यज्ञबहादुर गुरुङले आफ्ना अनुभव प्रस्तुत थिए ।
के हो किपट ?
किपट भनेको विशेषगरी नेपालको लिम्बू लगायत केही आदिवासी समुदायमा प्रचलित परम्परागत प्रथाजनित भूमि तथा प्राकृतिक स्रोत व्यवस्थापनको प्रणाली हो । लिम्बू समुदायको सन्दर्भमा, किपटलाई भूमि स्वामित्व मात्र भनेर बुझ्दा अपूर्ण हुन्छ । यसलाई भूमि, प्राकृतिक स्रोत, सामुदायिक अधिकार, प्रथाजन्य शासन र सांस्कृतिक सम्बन्धको समग्र प्रणालीको रूप हो । पल्लो किराँत लिम्बूवानमा रहेको परमपरागत स्व शासन हो ।
नेपाल एकीकरण र लिम्बुवान
नेपाल एकिकरणमा लिम्बूवानलाई पराजय गर्न नसक्नु ।
गोर्खा र लिम्बूवान विच १८३१ मा नुनपानी सम्झौता
गोरखा रज्यको अधिनता स्वीकार गर्ने ।
गोरखा पक्षलाई सहयोग गर्ने ।
परम्परागत रुपमा रहेको भूमि अधिकार र भोगचलन पुस्तौं भोग गर्न पाउने ।
लिम्बुवान तथा किपटमा तिरो खर्चरी लिम्बसवानले उठाउने र ६० प्रतिशत गोर्खा राजा र ४० प्रतिशत लिम्बुवानले उपयोग गर्ने ।
सम्झौताको पादना र निरन्तरता
सन्दकपुरमा रहेको ऐतिहासिक थेवे किपटको ऐतिहासिकता
इस्वी सम्वत् ८०० देखि ९०० को बिचमा थेवे वंशको सुरुवात भएको हो । थेवेको पहिलो पुस्ता उदीप सेन हो । थेवे लिम्बूको माङ्गेन्ना यक ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका-२ (साविक आम्बेगुदिन गाउँ विकास समिति) हो । आम्बेगुदिनबाट इस्वी सम्वत् १५३० तिर तुम्याहाङ हिलीको कान्छा छोरा ओझाहाङ अहिलेको भारत सिक्किम गई बसोबास गरे । उनका छोरा फुङ्याङसाही पुन : थाकथलोमा फिर्ने क्रममा खाम्दाक, साउदेन, इधिङ्गो, लक्सम्बा, साँवा र लिङदेनसँगै सिक्किमकै सोमबारे, दरम्देन, पुलबजार, बिजनबारी, गुन्द्रीबजार (दार्जिलिङ), लामागाउँ, सिम्बोङडेरा, मलबासे, मानेभञ्ज्याङ, पशुपतिनगर हुँदै इलामको सिरिशे, सोयाङ, लक्साम (सोयाङ, लक्साममा इधिङ्गो र लक्साम्बालाई त्यही छोडी) इलाम गोलाखर्क चुरेघाँटी हुँदै सुलुबुङ माबुको पक्कु भन्ने ठाउँमा बसी अझ राम्रो बसोबास गर्ने जग्गा खोज्दै जाने क्रममा चामादेन (अन्नपानी हुने ठाउँ) चामुना हालको जमुनामा पुगेर बसोबास गर्न थाले ।

अहिलेको सन्दकपुर गाउँपालिका-५ जमुना र ४ माबुमा रहेको पूर्वमा लामीधुरा, पश्चिममा छिन्टापु, उत्तरमा भारतको सीमाना पानी ढलो र दक्षिणमा माईखोलासम्मको खाली भूभाग चारकिल्ला कसी, ढालफाँड गरी थेबेसँगै आएका साउदेन, खाम्दाक, साँवा र लिङदेनको बसोबास सुरु गरे । त्यसपछि यो भूभागको दक्षिण तिरको खेतीयोग्य जमिनमा आवाद गरी बस्ने थाले र माथिल्लो भागमा रहेको खाली जग्गा चरन खर्कको रुपमा उपयोग गर्ने गरी बाँडेर भोगचलन गरे । गोरखा राजाबाट भोगचलनमा रहेको जग्गा किपटमा दर्ता गर्नु भन्ने मोहर बक्स भए बमोजिम किपट दर्ता गरी सुब्बाको रुपमा उपयोग गरे ।

किपटलाई भोगचलन पुस्ता हस्तान्तरण साथै दाज़ु भाईमा बाँडफाँट गरिदैँ लगियो । पछि राज्यको कनुनहरु बदलिदैँ गयो र किपटमाथि आतिक्रमण हुदैँ गयो । यसमा कही थेवेको भागमा रहेको र अन्य थरीको भगमा रहेको किपटहरु सामुदायिक सरकारी वन तथा भूभागमा परिणत हुँदै गयो । तर थेवेहरुको भागमा रहेको फुङ्याङसाई पछि गगनसिंह, करनदल, आशरुप पछि मैतसिंह थेवेको भागमा रहेको किपट पूर्वमा चिसोपनी खोला पश्चिममा बेंमाटार, दोबाटो, बकसढुङ्गा उत्तरमा भारत सिमाना पानीढलो र दक्षिणमा अर्थपा गलक्षिणीको चारकिल्ला भएको ८७९ (आवद/बसोवास क्षेत्र सहित) हेक्टर ज़मीन चाहिँ निरन्तर रुपमा मैतसिंह पछि लक्ष्मण थेवे हुँदै पुस्ता नम्बर ३६ सम्म अभिछिन्न किपटकै रुपमा भोगचलन हुँदै आएको छ । नयाँ बुलन्दबाट

प्रतिक्रिया
सम्बन्धित समाचार