Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा जोड

माङसेबुङमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा जोड

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज ८ २०८३


माङसेबुङमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा जोड

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले सम्भावित विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र आवश्यक व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले मौसम पूर्वानुमान महाशाखाबाट जारी विशेष मौसम बुलेटिनमा भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको सूचनालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाका विभिन्न वडाका जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई मौसमको अवस्था हेरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यसका लागि वडा अध्यक्षमार्फत आवश्यक व्यवस्थापन गर्ने तथा गाउँपालिका क्षेत्रभित्रका विद्यालयलाई समेत मौसमको अवस्था हेरी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, गाउँपालिकाभित्रका अधिकांश सडक कच्ची रहेकाले वर्षाका कारण सडक सञ्चालनमा अवरोध हुनसक्ने भन्दै मेसिन तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । प्रहरी चौकीमा रहेका चेनस लगायतका काट्ने औजारसमेत चालु अवस्थामा राख्ने र विद्युत् अवरुद्ध हुँदा विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवा सहज बनाउने निर्णय भएको छ ।

बैठकले तत्काल विपद् व्यवस्थापन कोष तथा गाउँपालिकाको मेसिन प्रयोग गरी मुख्य सडकको मर्मतसम्भार गरेर यातायात सञ्चालन सहज बनाउने निर्णयसमेत गरेको छ ।बैठकले देउमाई फाकफोक दोभान नावालुङ देउराली हुलाक सडक, घर्तीदोभान रतुवा बीपीमार्ग, तामाखोला भोटेडाँडा सडक, चतुरे चिबुवा सालिक भञ्ज्याङ सडक, गजुरमुखी तोभाङ सडक र लामिटार भालुटार हुँदै रिङरोड सडक, दमक चिसोपानी सडक, मार्चेबुङ सिमलटार सडलाई तत्काल मर्मतसम्भारका लागि प्राथमिकतामा राखेको छ ।

यसैगरी, माङसेबुङ गाउँपालिका–१ र २ बीच फेवा खोलामा ट्रस ब्रिज निर्माणका लागि प्रदेश सरकारबाट आवश्यक सामग्री आइसके पनि जडान प्रक्रिया अघि नबढेको भन्दै पूर्वाधार विकास कार्यालय, इलाममार्फत कोशी प्रदेश सरकारलाई जानकारी गराउने निर्णय गरिएको छ । गजुरमुखी धाम क्षेत्रमा रहेको देउमाई खोला पक्की पुलको संरक्षणका लागि समेत तत्काल आवश्यक पहल गर्ने निर्णय भएको छ ।

वर्षाका कारण पुलको सतह तथा आसपासको भागमा क्षति पुगेको जनाउँदै पूर्वाधार विकास कार्यालय, इलाममार्फत आवश्यक संरक्षण तथा मर्मतका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । राँके-रवि-भेडेटार सडकखण्डमा सडकको नाली निकास व्यवस्थित गरी विपद् जोखिम न्यूनीकरण गर्ने तथा पाँचथरपट्टिको नाली निकासबाट इलामतर्फ हुनसक्ने क्षति रोक्न सम्बन्धित निकायमार्फत आवश्यक व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।

विपद् व्यवस्थापनका क्रममा राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकाय र सरोकारवालाबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने निर्णयसमेत बैठकले गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार