इलाम । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा इलामको माई नगरपालिकामा अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) माई नगरपालिका शाखाको आयोजनामा कक्षा ९–१० तहका विद्यार्थीबीच प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा माई नगरपालिकाका १० वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा कन्काई माध्यमिक विद्यालयकी छात्रा खुशी लिम्बू प्रथम भएकी छन्। त्यस्तै नेपाल एकाडेमीकी सायसा तामाङ र न्युलाइट अङ्ग्रेजी माध्यमिक विद्यालयकी मरिष्का श्रेष्ठ संयुक्त रूपमा दोस्रो भएका छन्। शिशु सेवा माध्यमिक विद्यालय, चेप्टीकी रोशनी शर्मा तेस्रो हुँदा जनता माध्यमिक विद्यालय, चिसापानीका सजिङ चाम्लिङ ले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रतियोगितामा अन्य सहभागीमध्ये सरस्वती माध्यमिक विद्यालय, मुसेखोलाकी रुजा राई, हिमालय माध्यमिक विद्यालय, लुम्बाकका सञ्जय लाम्गादे, लक्ष्मी आदर्श माध्यमिक विद्यालयका गाङ्गदेवे बस्नेत, स्वर्णिम मोडल एकाडेमीकी सारिका गिरी र भगवती माध्यमिक विद्यालयकी लाजीमा राई ले क्रमशः अन्य स्थान हासिल गरेका छन्।
कार्यक्रम नेरेसो माई नगरपालिका शाखाका संयोजक मित्रप्रसाद गौतमको अध्यक्षता, माई नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत विनिता सुवेदीको प्रमुख आतिथ्यता तथा शाखा सचिव हरिप्रसाद गुरागाईंको सञ्चालनमा सम्पन्न भएको थियो। यसै अवसरमा हालै माई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएकी विनिता सुवेदीलाई नेपाल रेडक्रस सोसाइटी माई नगरपालिका शाखाको तर्फबाट स्वागत तथा सम्मान समेत गरिएको थियो।