इलाम । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका हिमालय कर्माचार्यले इलाममा पार्टीभित्रको आगामी राजनीतिक समीकरणबारे सार्वजनिक रूपमा धारणा राखेका छन्। कर्माचार्यले सामाजिक सञ्जालमार्फत जिल्ला सभापतिदेखि क्षेत्रीय तथा प्रदेश सभापतिसम्मका पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा आफूहरूको समूहले गरेको निर्णय सार्वजनिक गरेका हुन्।
विशेष महाधिवेशनबाट कर्माचार्य कोशी प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा चयन भएका थिए। कर्माचार्यले जिल्ला कार्यसमिति इलामको सभापतिमा आफूले फलानालाई सघाउने र अर्का पक्षले आफूलाई सघाउने भन्ने चर्चा तथा अफवाह चलिरहेको उल्लेख गर्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले आफूले कसैलाई कुनै वचन नदिएको भन्दै यस विषयमा आफू र निकटका साथीहरूसँग तीन विकल्प रहेको बताएका छन्।
उनका अनुसार ती विकल्पमा खगेन्द्र देवानलाई सहयोग गर्ने, भेषराज आचार्यलाई सहयोग गर्ने वा अरू कुनै व्यक्तिलाई अघि सार्ने रहेका थिए। जिल्ला अधिवेशनअघि निकटका साथीहरूसँग छलफल गरी सामूहिक निर्णयका आधारमा अघि बढ्ने उनले बताएका छन्। कर्माचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अर्को महत्वपूर्ण विषय क्षेत्र र प्रदेश सभापतिसम्बन्धी समीकरण हो।
उनले क्षेत्र नं २ को सभापतिमा तीर्थ गुरुङ र २(क) को प्रदेश सभापतिमा श्री विष्टलाई सहयोग गर्ने निर्णय पहिल्यै भइसकेको बताएका छन्। त्यस्तै क्षेत्र नं १ को सभापतिमा जीवन नेपाल र २(ख) को प्रदेश सभापतिमा सुवास तामाङलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन्। यससँगै कर्माचार्यको पछिल्लो अभिव्यक्तिले इलाम कांग्रेसभित्र आगामी संगठनात्मक प्रतिस्पर्धाका लागि बन्ने सम्भावित गुट तथा समूहगत समीकरणलाई सतहमा ल्याएको छ।
विगतमा पनि इलाम कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा कर्माचार्यसहित विभिन्न नेताबीच फरक–फरक समीकरण बनेका थिए। २०७८ को जिल्ला अधिवेशनमा समेत कर्माचार्य, केशव थापा र डम्बर खड्काबीचको समीकरण चर्चामा आएको थियो। विशेष महाधिवेशनपछि कांग्रेसभित्र नयाँ राजनीतिक संरचना बनेको अवस्थामा इलाममा कर्माचार्यले सार्वजनिक गरेको समर्थन र समीकरणलाई स्थानीय कांग्रेसको आगामी शक्ति-सन्तुलनसँग जोडेर हेरिएको छ।
यद्यपि, जिल्ला सभापतिसहितका पदमा अन्तिम समीकरण र उम्मेदवारीले नै त्यसको वास्तविक स्वरूप स्पष्ट पार्नेछ।
