इलाम : मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले इलाम अस्पतालमा एकदिने गुणस्तर सुधारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा अस्पतालमा प्रदान भइरहेको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको वर्तमान अवस्था, देखिएका समस्या तथा चुनौती पहिचान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
साथै, पहिचान भएका समस्याको समाधानका उपाय खोज्दै आगामी दिनमा कार्यान्वयन गर्ने सुधार योजनासमेत तयार गरिएको छ। कार्यक्रमको अध्यक्षता इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमिताभ ठाकुरले गरेका थियो भने आतिथ्यता स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले गरे।
कार्यशालाको सहजीकरण गुणस्तर सुधारका सल्लाहकार मदनराज भट्ट तथा गुणस्तर सुधार अधिकृतहरू कल्पना श्रेष्ठ कँटेल र अस्मिता हमालले गरेका थिए । कार्यक्रम एमसीजीएल–जाइगोको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यशालामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न स्वास्थ्यकर्मीबीच प्रभावकारी समन्वय, नियमित अनुगमन, समस्या पहिचान र निरन्तर सुधार आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यशालाबाट पहिचान भएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै आगामी तीन महिनाभित्र सुधारका गतिविधि सञ्चालन गर्ने योजना बनाइएको छ। यसबाट इलाम अस्पतालबाट प्रदान हुने मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई थप सुरक्षित, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।