Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जोगमाई बेलिब्रिज अन्यत्र डाइभर्ट भएकोप्रति एमालेको आपत्ति, सांसद राई भन्छन्– ‘बेलिब्रिज अन्यत्र डाइभर्ट गरिएको छैन्’

जोगमाई बेलिब्रिज अन्यत्र डाइभर्ट भएकोप्रति एमालेको आपत्ति, सांसद राई भन्छन्– ‘बेलिब्रिज अन्यत्र डाइभर्ट गरिएको छैन्’

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ३१ २०८३


जोगमाई बेलिब्रिज अन्यत्र डाइभर्ट भएकोप्रति एमालेको आपत्ति, सांसद राई भन्छन्– ‘बेलिब्रिज अन्यत्र डाइभर्ट गरिएको छैन्’

इलाम । इलामको जोगमाई खोलामा जडान गरिने बेलिब्रिज अन्यत्र डाइभर्ट गरिएको भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० इलाम जिल्ला कमिटीले आपत्ति जनाएको छ। प्रतिनिधिसभा सदस्य निश्कल राईले भने जोगमाईका लागि तय गरिएको बेलिब्रिज अन्यत्र सारिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

एमाले इलाम जिल्ला कमिटीले भाद्र २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा गत वर्षको अविरल वर्षापछि आएको बाढीले जोगमाई खोलामा लगाइएको बेली ब्रिज बगाएको उल्लेख गर्दै भारत सरकारको सहयोगमा नयाँ बेलिब्रिज जडान प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रारम्भिक चरणमा केही सामग्री जोगमाईमा ल्याइसकिएको अवस्थामा थप सामग्री अन्यत्र लगिएको भन्ने सूचना प्राप्त भएको भन्दै पार्टीले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा इलामको वैकल्पिक राजमार्गका रूपमा रहेको तिल्केनी–सिमलगोलाइ खण्डअन्तर्गत जोगमाई खोलामा जगसमेत तयार गरी बेलिब्रिज जोड्ने कार्य मात्र बाँकी रहेको अवस्थामा अन्यत्र बेलिब्रिज सार्ने कार्यले इलामलाई सडक सञ्जालबाट वञ्चित गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै तत्काल बाँकी सामग्री जोगमाईमै ल्याउन माग गरिएको छ। एमाले जिल्ला कमिटीले भारत सरकारको सहयोगमा प्राप्त बेलिब्रिजका बाँकी सामग्री तत्काल सोही स्थानमा ल्याई जडानको काम सम्पन्न गर्न नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गर्नसमेत आग्रह गरेको छ।

यता प्रतिनिधिसभा सदस्य निश्कल राईले भने जोगमाईका लागि तय गरिएको बेलिब्रिज डाइभर्ट गरिएको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन्। उनका अनुसार जोगमाई खोलाको बेलिब्रिज भारत सरकारको प्राथमिकतामा रहेको छ र आवश्यक सामग्री तथा प्राविधिक जनशक्ति इलाम ल्याउने प्रक्रिया अघि बढिरहेको छ। राईका अनुसार नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहसँग पछिल्ला दुई दिनदेखि निरन्तर संवाद भइरहेको छ।

भारतीय पक्षले जोगमाईको बेलिब्रिजलाई रसुवामा जडान गरिएको बेलिब्रिजसरह प्राथमिकतामा राखेको र जोगमाईका लागि तय गरिएको बेलिब्रिज अन्यत्र डाइभर्ट गरिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेको उनको भनाइ छ।
उनले हिजो भएको छलफलपछि भारतीय राजदूतावासका प्रथम सचिव सिंहले भारतको सम्बन्धित मन्त्रालयसँग तत्काल समन्वय गरी कोलकातास्थित जीआरएसई म्यानुफ्याक्चरसँग सम्पर्क गर्न अनुरोध गरेको जानकारी दिए।

राईका अनुसार हाल कम्पनीको उत्पादन क्षमता सीमित रहेकाले आवश्यक सामग्री उत्पादन तथा आपूर्तिमा केही समय लागिरहेको छ। पछिल्लो जानकारीअनुसार बाँकी सामग्री तथा प्राविधिक जनशक्ति इलामसम्म पुर्‍याउन कम्तीमा दुई साता लाग्ने देखिएको उनले बताए। बेलिब्रिजको ढुवानी, जडान तथा नेपालतर्फबाट गर्नुपर्ने समन्वय र तयारीका कारण थप ढिलाइ नहोस् भनेर सम्बन्धित मन्त्रालय तथा निकायलाई समेत आफूले निरन्तर आग्रह गरिरहेको राईले बताए।

प्रतिनिधिसभामा प्रतिपक्षी सदस्यका रूपमा आफूले संसदीय तथा अन्य माध्यमबाट जोगमाई बेलिब्रिजको विषय निरन्तर उठाउँदै आएको उल्लेख गर्दै राईले बेलिब्रिज यथाशीघ्र इलाम ल्याएर सञ्चालनमा ल्याउन आवश्यक पहल, दबाब र समन्वय जारी राख्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार