इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गरे। ‘योङहाङ कृषि तथा पशुपालन फार्म’ दर्ता गरी एभोकाडो खेती सुरु गरेका लिम्बूले अन्नबाली उत्पादन हुने २० रोपनी क्षेत्रफलमा २०० वटा एभोकाडोका बिरुवा रोपे। सुरुमा बिरुवा खरिद, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा राम्रै खर्च गरे। एभोकाडोका बिरुवा पनि राम्ररी हुर्किए। गत वर्षदेखि फुल्न थालेका बोटमा यस वर्ष फलसमेत राम्रोसँग लाग्न थालेको थियो। तर फल लागिरहेका एभोकाडोका बोट एकाएक सुक्न र मर्न थालेपछि लिम्बू चिन्तित बनेका छन्।
मुख्य उत्पादन दिने समयमा नै बोट मर्न थालेपछि समस्या भएको लिम्बूले बताए। एभोकाडोका बोटमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको उनको भनाइ छ। राम्रो आम्दानीको अपेक्षा गरेका लिम्बूको एभोकाडो बगानमा एकाएक रोगको समस्या देखिएको हो। उनले बारीमा लगाएका अधिकांश बोट मर्न थालेका छन्। सुरुका वर्षमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन दिने बेलामा बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए।
लिम्बूले २०७८ सालमा धनकुटाको पाख्रिबासबाट प्रतिगोटा २०० रुपैयाँका दरले एभोकाडोका बिरुवा खरिद गरेर रोपेका थिए। “विसं २०७८ मा धनकुटाको पाख्रिबासबाट प्रतिगोटा २०० रुपैयाँका दरले २०० वटा एभोकाडोका बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको थिएँ,” उनले भने, “यो वर्षदेखि मज्जाले फलसमेत लाग्न थालेको थियो तर एकाएक बोटहरू मर्न थालेपछि चिन्तित बनाएको छ।” लटरम्म फल लागेको एभोकाडोका दाना खस्नुका साथै बोट नै मर्ने समस्या देखिएको उनले बताए।
अन्नबाली उत्पादन हुने जमिनमा व्यावसायिक रूपमा एभोकाडो खेती सुरु गरेका लिम्बूलाई बोट मर्दा लाखौँ रुपैयाँको क्षति हुने चिन्ता छ। उनका अनुसार सुरुमा तल्लो भागका पात पहेँलिने, हाँगा कमजोर हुँदै जाने र पूरै बोट सुक्ने समस्या देखिएको छ। “बिरुवा राम्रोसँग हुर्किएर यो वर्षदेखि फल पनि लाग्न थालेको थियो,” उनले भने, “एकपछि अर्को बोटको पात पहेँलिँदै बोटहरूसमेत मर्न थालेका छन्। सुरुमा गरेको लगानी रकम कसरी उठाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ।”
एभोकाडो खेतीका लागि बिरुवा खरिददेखि जग्गा तयारी र मल व्यवस्थापनसम्म ठूलो लगानी भएको लिम्बूले बताए। पाँच वर्षसम्म हुर्काएर उत्पादन दिन थालेका बोट मर्न थालेपछि लाखौँ रुपैयाँको क्षति हुने उनको भनाइ छ। यतिबेला इलाममा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बोटबाटै एभोकाडो बिक्री भइरहेको छ। राम्रो बजार मूल्य पाइने र एकपटक बगान स्थापना गरेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले इलामका किसानले अन्य परम्परागत खेती छाडेर एभोकाडो खेतीलाई प्राथमिकता दिन थालेका छन्।
एभोकाडोमा भिटामिन तथा खनिज तत्त्व पर्याप्त मात्रामा पाइने विज्ञहरूको भनाइ छ। एभोकाडोमा भिटामिन ‘सी’, ‘ई’, ‘के’ र ‘बी’ लगायतका पोषक तत्त्व पाइन्छन्। साथै राइबोफ्लाभिन, नियासिन, फोलेट, प्यान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पाइने भएकाले एभोकाडोलाई स्वास्थ्यवर्धक फलका रूपमा लिइन्छ। एभोकाडोको खेती समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइसम्म गर्न सकिन्छ।
बिरुवा रोपेको चारदेखि पाँच वर्षपछि उत्पादन दिन थाल्ने भएकाले समथर भूभागसँगै पाखोबारी तथा कान्लामा समेत एभोकाडो रोपेर किसानले यसलाई नियमित आम्दानीको स्रोत बनाउन थालेका छन्।