Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलामको पोष्टमा देवदह रुपन्देहीको गोल बर्षा

रेडहर्स इलामको पोष्टमा देवदह रुपन्देहीको गोल बर्षा

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र २९ २०८३


रेडहर्स इलामको पोष्टमा देवदह रुपन्देहीको गोल बर्षा

इलाम । तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै देवदह व्वाइज रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा देवदह व्वाइजले सुरुवातदेखि नै रेडहर्समाथि दबाब कायम राख्दै एकतर्फी जित निकालेको हो ।

रुपन्देहीको जितमा सुजित बुढाथोकी एक्लैले चार गोल गरे । खेलको २०औँ मिनेटमा पेनाल्टी एरियाभित्र पाएको अवसरलाई सदुपयोग गर्दै सुजित बुढाथोकीले गोल गरेपछि देवदह व्वाइजले १–० को अग्रता बनाएको थियो । ३६औँ मिनेटमा सुजितले डिबक्स बाहिरबाट गरेको प्रहार रेडहर्सका गोलरक्षक विवेक मगरले रोक्न नसकेपछि देवदह व्वाइजको अग्रता २–० मा पुग्यो ।

लगत्तै ३७औँ मिनेटमा सुरज चौधरीले गोल गर्दै रुपन्देहीको अग्रता ३–० बनाए। मध्यभागबाट सुजित बुढाथोकीले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै सुरजले गोल गरेका थिए । दोस्रो हाफमा पनि देवदह व्वाइजले आक्रामक खेललाई निरन्तरता दियो ।

दोस्रो हाफको नवौँ मिनेटमा सुजितले ह्याट्रिक पूरा गर्दै टोलीको अग्रता ४–० मा पु¥याए । सुरज चौधरीको प्रहार रेडहर्सका गोलरक्षक विवेक मगरलाई लागेर रिबाउन्ड भएको अवस्थामा डिफेन्डरबीच तालमेल नमिल्दा सुजितले सहजै गोल गरेका थिए ।

दोस्रो हाफको १५औँ मिनेटमा सुजितले व्यक्तिगत चौथो गोल गर्दै देवदह व्वाइजलाई ५–० को बलियो स्थितिमा पु¥याए । दोश्रो हाफको २४औँ मिनेटमा डेविन थापाले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएपछि देवदह व्वाइजले ६–० को फराकिलो जित सुनिश्चित गरेको हो । गोलरक्षक विवेक मगर आफ्नो स्थानबाट अगाडि बढेको अवस्थामा डेविनको लामो प्रहारले जाली चुमेको थियो ।

जितसँगै देवदह व्वाइज रुपन्देही प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रेडहर्स भने क्वाटरफाइनलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । जितसंगै रुपन्देहीले आयोजक टिम भरतपुर एफसीसंग प्रतिस्पर्धा गर्नेछ । भरतपुरले यसअघि भुटानको पाकक्षम एफसीलाई ६–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार