- देशभर मनसुनी वायुको प्रभावले हाल मौसम सामान्यतया बदली भएको छ।
- कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
- कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
इलाम। देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यतिबेला देशका अधिकांश भू(भागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ। सोमबार दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्छ। देशका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ। मधेस र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा चट्याङसहित वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।