इलाम । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीकी इलाम इञ्चार्ज खिनु लङ्वा लिम्बुलाई नेपाली कम्युनिष्ट पार्टीको इलाम नगर कमिटीले बधाई तथा शुभकामना दिएको छ।
नेपाली कम्युनिष्ट पार्टीको इलामस्थित कार्यालयमा सनिबार एक आयोजित कार्यक्रममा मन्त्री लङ्वालाई प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्राप्त गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रममा इलाम नगर क्षेत्रका पार्टीका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागी कार्यकर्ताले मन्त्री लङ्वाको नयाँ जिम्मेवारीले इलामको पर्यटन विकास, वन तथा वातावरण संरक्षण र जिल्लाको समग्र विकासमा थप योगदान पुग्ने अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रममा मन्त्री लङ्वाले आफूले पाएको जिम्मेवारीलाई पार्टी, कार्यकर्ता तथा आम नागरिकको हितमा उपयोग गर्दै प्रदेशको पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
पार्टीको इलाम इञ्चार्जको जिम्मेवारीसमेत सम्हालिरहेकी मन्त्री लङ्वाले इलामको पर्यटन सम्भावनालाई प्रदेशको विकाससँग जोड्दै स्थानीयस्तरमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयमा पनि ध्यान दिने बताएकी थिइन्।
कार्यक्रममा पार्टीका नेता तथा अगुवा कार्यकर्ताले मन्त्री लङ्वाको कार्यकाल सफल बनाउन पार्टीका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको इलाम नगर इञ्चार्ज प्रभास सर्मा आचार्यले जानकारी दिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य सोममाया राई, जिल्ला कार्यालय सचिव मानबहादूर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।