इलाम (सन्दकपुर) । सन्दकपुरमा ‘कथा बदलौँ, आत्महत्या रोकथाम गरौँ’ सन्देशसहित मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महत्याका घटनालाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिइरहेका बेला इलामको सन्दकपुर गाउँपालिकामा मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श तथा आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सन्दकपुर गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रमले आत्महत्यासम्बन्धी सामाजिक दृष्टिकोण परिवर्तन गर्दै मानसिक स्वास्थ्यका विषयमा खुला संवाद गर्नुपर्ने आवश्यकता औँल्याएको छ । कार्यक्रमको मुख्य सन्देश आत्महत्यासम्बन्धी बुझाइ र कथन परिवर्तन गर्दै रोकथामतर्फ केन्द्रित हुनु पर्नेमा सहभागिले जोड दिएका थिए ।
नेपालमा आत्महत्या सार्वजनिक स्वास्थ्यका प्रमुख चुनौतीमध्ये एक बनेको तथ्याङ्कहरूले देखाउँछन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१र८२ सन् २०२४ र २५ मा देशभर ६ हजार ८६६ जनाको आत्महत्याबाट मृत्यु भएको थियो । यो अघिल्लो आर्थिक वर्षको ७ हजार २२३ को तुलनामा केही कमी भए पनि औसतमा दैनिक करिब १८ जनाले ज्यान गुमाउने अवस्था रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी तथ्याङ्कअनुसार नेपालमा आत्महत्याको मृत्यु दर प्रतिलाख जनसंख्यामा १८ दशमलव १ रहेको थियो । सातै प्रदेशमध्ये कोशी प्रदेशमा प्रतिलाख २३ दशमलव ८ को दर देखिएको थियो, जुन देशका अन्य प्रदेशहरूमध्ये उच्च दरमध्ये पर्दछ । सोही तथ्याङ्कअनुसार नेपालमा दैनिक औसत १४ जनाको मृत्यु आत्महत्याका कारण हुने गरेको उल्लेख छ ।
यही कारण मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय संघीय सरकारको मात्र नभई प्रदेश र स्थानीय तहको पनि प्राथमिकताको विषय बन्न थालेको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । विश्व स्वास्थ्य संगठनले नेपालमा आत्महत्या रोकथामका लागि राष्ट्रिय नीति, स्वास्थ्य सेवा प्रणाली, समुदायस्तरीय सचेतना तथा विभिन्न निकायबीचको समन्वय आवश्यक रहेको बताउँदै आएको छ । सन् २०२४ मा नेपालमा आयोजित राष्ट्रियस्तरको छलफलमा पनि वार्षिक ७ हजारभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाइरहेको विषयलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा उठाइएको थियो ।
सन्दकपुरमा आयोजित कार्यक्रमले मानसिक स्वास्थ्य समस्यालाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने सन्देश दिएको गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बताए । तनाव, पारिवारिक समस्या, सामाजिक दबाब वा अन्य मानसिक कठिनाइमा रहेका व्यक्तिप्रति दोषारोपणभन्दा सहयोग, संवाद र समयमै उचित परामर्श आवश्यक पर्नेमा जोड दिइएको सन्दकपुर गाउँपालिका मनोसामाजिक परामर्शकर्ता रसिक भट्टराईले बताए ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म मानसिक स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शको पहुँच विस्तार गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूको धारणा छ । स्वास्थ्य संस्था, विद्यालय, परिवार, समुदाय र स्थानीय सरकारबीच समन्वय भए मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान र सहयोगको वातावरण थप प्रभावकारी बन्न सक्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारले पनि मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्दै नयाँ रणनीति निर्माणको प्रक्रिया अघि बढाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति २०२६–२०३० निर्माणका लागि सरोकारवाला निकायसँग परामर्श प्रक्रिया सुरु गरेको छ ।
सन्दकपुरमा सम्पन्न कार्यक्रमलाई कोशी प्रदेशको ग्रामीण समुदायसम्म मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बहस विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । विशेषज्ञहरूका अनुसार तथ्याङ्कमा केही कमी देखिए पनि वर्षेनी हजारौँ परिवार प्रभावित भइरहेकाले सचेतना, समयमै सहयोग, गुणस्तरीय मानसिक स्वास्थ्य सेवा र समुदायको सहयोगी वातावरण निर्माणमा राज्यका तीनै तहले प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता छ । कार्यक्रममा आत्महत्या रोगथाम बारे संवाद शुरु गरौँ, दिश्टिकोण बदलौँ बिषयमा मनोविद् छितिज लुङ्गेली र मनोविद् तथा मनोसामाजिक परामर्शकर्ता साधना निरौलाले मानसिक स्वास्थ्य थेरापीबारेमा सहजिकरण गरेका थिइन् ।