Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई–९ को सामुदायिक वनमा अवैध सालको काठ कटान, दुई जना पक्राउ

माई–९ को सामुदायिक वनमा अवैध सालको काठ कटान, दुई जना पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २४ २०८३


माई–९ को सामुदायिक वनमा अवैध सालको काठ कटान, दुई जना पक्राउ

इलाम । माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय, इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ तथा बरामद कार्यमा प्रहरी चौकी चिसापानीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त राय नेतृत्वको टोलीले समेत सहयोग गरेको थियो। पक्राउ पर्नेमा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मु रहेको सूचना अधिकारी शर्माले जानकारी दिए।

घटनास्थलबाट साल जातको ४ वटा गोलिया र चिरान गर्दै गरेको २ वटा फक्लेटासहित ६ थानमा ३३.५३ घनफिट तथा चिरान भइसकेको ८ थानमा ८.१७ घनफिट गरी जम्मा १४ थानमा ४१.७० घनफिट काठ बरामद गरिएको छ। यस्तै, काठ कटान तथा चिरानमा प्रयोग भएको १ वटा गोर्खपुरे चिरान आरा, १ वटा गल, आराको दाँत मिलाउने १ वटा नारिस, १ वटा मिटर टेप र १ वटा दाउसमेत बरामद गरिएको वन कार्यालयले जनाएको छ।

बरामद काठको बिगो  ५६ हजार २१० कायम गरिएको छ। घटनाका सम्बन्धमा थप क्षतिको जाँचबुझ गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको सूचना अधिकारी शर्माले बताए। डिभिजन वन कार्यालय, इलामले सीमित स्रोतसाधनका बाबजुद वन संरक्षणलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जनाउँदै डिभिजनल वन अधिकृत उत्सव थापाले वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा वन संरक्षणमा कार्यालय शून्य सहनशीलताको नीतिसहित अघि बढिरहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार