इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित रुङसुङ चौकबाट वडा नं। १ को गोर्खे बजार जोड्ने रुङसुङ–गोर्खे–मानेडाँडा–जोगमाई सडकको पहिलो खण्ड कालोपत्रे कार्यलाई सहजीकरण, समन्वय र गुणस्तरीय बनाउन स्थानीयस्तरमा सहजीकरण तथा अनुगमन समिति गठन गरिएको छ। कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रुङसुङ चौकबाट भिमज्योति आधारभूत विद्यालयसम्म करिब तीन किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको हो ।
निर्माण कार्यलाई सहज, प्रभावकारी र निर्धारित समयभित्र सम्पन्न गराउने उद्देश्यले स्थानीय उपभोक्ता तथा सरोकारवालाको सहभागितामा समिति गठन गरिएको हो। समितिको संयोजकमा लिलाराम राई चयन भएका छन्। समितिका सदस्यहरूमा अशोक कार्की, आइन्द्र लिम्बु, मन्दिप राई, पहमान खवास, राम राई, उद्धव पौड्याल, वेदप्रसाद सापकोटा, गोविन्दप्रसाद तिम्सिना, मोहन खवास र प्रेम पौडेल रहेका छन्।
सडक निर्माण क्षेत्रअन्तर्गत पर्ने स्मृति टोल विकास संस्था, हरियाली टोल विकास संस्था, गोदावरी टोल विकास संस्था र कालीदेवी टोल विकास संस्थाका अध्यक्ष वा प्रतिनिधिको सहभागितालाई समेत निर्माण कार्यको सहजीकरण र समन्वयमा जोड दिइएको छ। निर्माणको जिम्मेवारी पाएको पूर्वाञ्चल कन्स्ट्रक्सनसँग आवश्यक समन्वय गर्दै सडकको गुणस्तर कायम गर्ने र निर्माण कार्यमा देखिन सक्ने समस्या समाधानका लागि समिति सक्रिय रहने बताइएको छ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री तथा प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुको उपस्थितिमा सहजीकरण समिति गठन गरिएको हो। मन्त्री लिम्बुले सडक निर्माण कार्य गुणस्तरीय, पारदर्शी र समयसीमाभित्र सम्पन्न गर्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताएकी छन्। यसअघि प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेशसभा सदस्य लिम्बुको पहलमा रुङसुङ चौकबाट माइजोगमाई र सन्दकपुर गाउँपालिका हुँदै इलाम नगरपालिकाको बाघखोर जोड्ने दीर्घकालीन रिङरोडको अवधारणाअनुसार बजेट विनियोजन हुँदै आएको थियो।
हाल कालोपत्रे हुन लागेको पहिलो खण्डमा यसअघि कोशी प्रदेश सरकारको तीन करोड रुपैयाँभन्दा बढी लगानीमा पक्की नाला निर्माण, सडक कटिङ तथा ग्राभेललगायतका काम सम्पन्न भइसकेका छन्। अब कोशी प्रदेश सरकारबाट बहुवर्षीय ठेक्का स्वीकृत भएपछि पूर्वाधार विकास कार्यालय इलाममार्फत कालोपत्रेको काम अघि बढ्ने भएको हो। सडक कालोपत्रेका लागि निर्माण व्यवसायी छनोट प्रक्रिया सम्पन्न भइसकेको छ।
झापास्थित पूर्वाञ्चल कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको छ। मूल्य अभिवृद्धि करबाहेक ५ करोड ४५ लाख रुपैयाँमा सडक कालोपत्रे गर्ने सम्झौता भएको बताइएको छ। यसअघि मन्त्री लिम्बुको नेतृत्वमा पूर्वाधार विकास कार्यालय इलामका प्राविधिक कर्मचारी तथा निर्माण व्यवसायीको सहभागितामा कालोपत्रे हुने सडक खण्डको स्थलगत अध्ययनसमेत सम्पन्न गरिएको थियो।