युएई । युनाइटेड अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने इलामेलीहरूको सामाजिक संस्था ‘इलाम सेवा समाज युएई’ गठन गरिएको छ। भदौ २१ गते सम्पन्न विशेष भेलाले सुरज प्रधानको अध्यक्षतामा समाजको कार्यसमिति चयन गर्दै संस्थाको औपचारिक स्थापना गरेको हो।
उपाध्यक्षमा दिनेश लिम्बू र मन्जित लिम्बू, महासचिवमा सुरेश अङ्गबो, सचिवमा मिलन तामाङ, कोषाध्यक्षमा विकास राई तथा सहकोषाध्यक्षमा रोशना भण्डारी चयन भएका छन्। युएईका विभिन्न स्थानमा बसोबास गर्दै आएका इलामेलीहरूलाई एकताको सूत्रमा बाँध्दै आपसी सहयोग, सद्भाव तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले समाज गठन गरिएको जनाइएको छ।
समाजले युएईमा रहेका इलामेलीबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक तथा मानवीय क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ। यसैबीच, समाजले युएईमा रहेका सम्पूर्ण इलामेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा साथ, सहयोग र सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।