कन्याम । सूर्योदय नगरपालिकाको कन्यामस्थित चियाबारी पदमार्गलाई पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादन, उद्यम र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सूर्योदय नगरपालिका–६, ७ र ८ नम्बर वडालाई जोड्ने चियाबारी पदमार्गको विकास, संरक्षण तथा पर्यटन प्रवर्द्धनका विषयमा बुधबार कन्याममा आयोजित छलफलमा सहभागीहरूले पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।
सूर्योदय नगरपालिका–८ का वडा सदस्य पदम गिरीले चियाबारी पदमार्गलाई स्थानीय पर्यटनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताए। उनले पदमार्ग आसपासका होटल, होमस्टे, कृषि तथा अन्य स्थानीय व्यवसायलाई पर्यटनसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए। ‘स्थानीय समुदायको सहभागिता र सरोकारवालाको सहकार्यलाई निरन्तरता दिँदै पदमार्गको थप विकास र प्रचार–प्रसारमा जोड दिन आवश्यक छ,’ गिरीले भने।
सहभागीहरूले चियाबारी क्षेत्रको प्राकृतिक सौन्दर्य, चिया बगान र स्थानीय जीवनशैलीलाई पर्यटनसँग जोड्दै नयाँ पर्यटकीय गतिविधि विस्तार गर्नुपर्ने बताए। पर्यटनको लाभ स्थानीयस्तरमै पु¥याउन उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो। छलफलमा चियाबारी पदमार्ग क्षेत्रका होटल तथा पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, महिला उद्यमी, अग्रज व्यवसायी तथा अभिभावकसँगै सूर्योदय नगरपालिका–६, ७ र ८ का जनप्रतिनिधि तथा पदमार्गसँग सम्बन्धित कर्मचारीहरूको सहभागिता थियो।
सहभागीहरूले पदमार्गको नियमित सरसफाइ, सुरक्षा व्यवस्था, सूचना तथा संकेत बोर्ड, विश्रामस्थल र आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। चियाबारी पदमार्गलाई व्यवस्थित र दिगो रूपमा विकास गर्न सके सूर्योदय नगरपालिका–६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सहभागीहरूको विश्वास छ। साथै, पदमार्गलाई स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र पर्यटन व्यवसाय विस्तारको माध्यम बनाउन सके यस क्षेत्रको आर्थिक गतिविधिमा थप टेवा पुग्ने उनीहरूको भनाइ छ।