Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भोटेकोसी बाढीपीडितका लागि सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सहयोग गर्ने निर्णय

भोटेकोसी बाढीपीडितका लागि सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सहयोग गर्ने निर्णय

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १३ २०८३


भोटेकोसी बाढीपीडितका लागि सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सहयोग गर्ने निर्णय

इलाम । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सन्दकपुर गाउँपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सन्दकपुर गाउँ कार्यपालिकाको २०८३ भदौ १२ गते बसेको बैठकले विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाका जनप्रतिनिधिका तर्फबाट १५ दिन बराबरको सेवा–सुविधा रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, गाउँपालिकाका कर्मचारी तथा शिक्षकका तर्फबाट पनि सहयोग गर्ने निर्णय गरिएको छ। निर्णयअनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीले २ दिन, श्रेणीविहीन कर्मचारीले ३ दिन, सहायक स्तरका शिक्षकरकर्मचारीले ४ दिन र अधिकृत स्तरका शिक्षकरकर्मचारीले ५ दिनको सुरु तलब स्केल बराबरको रकम सहयोग गर्नेछन्।

गाउँपालिकाले राष्ट्रिय विपद्को यस घडीमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको जनाएको छ। यसैगरी, सन्दकपुर गाउँपालिकाको आयोजनामा भदौ १२ गते राजनीतिक दलहरूको उपस्थितिमा बसेको सर्वदलीय बैठकले गाउँपालिकाभित्रका व्यक्ति तथा संघसंस्थाले स्वेच्छिक रूपमा गरेको सहयोगको विवरण अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको छ।

स्वेच्छिक सहयोगको विवरण तथा रकमको प्रमाणका रूपमा गरिएको स्क्रिनसटसहितको विवरण गाउँपालिकाको आधिकारिक ह्वाट्सएप नम्बर ९८०१४५१७४१ मा उपलब्ध गराउन आग्रह गरिएको छ। यसबाट विपद्को समयमा प्राप्त आर्थिक सहयोगको एकीकृत तथ्यांक तयार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार