Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

फिफा यू–१५ विश्वकप छनौटका लागि इलामबाट ५८ खेलाडी

फिफा यू–१५ विश्वकप छनौटका लागि इलामबाट ५८ खेलाडी

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ८ २०८३


फिफा यू–१५ विश्वकप छनौटका लागि इलामबाट ५८ खेलाडी

इलाम । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल–२०२६ मा सहभागिताका लागि हुने कोशी प्रदेशस्तरीय छनोटमा इलाम जिल्लाबाट ५८ जना खेलाडी छनोट भएका छन्। जिल्ला फुटबल संघ इलामले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका विभिन्न स्थानीय तहबाट यू–१५ उमेर समूहका खेलाडी छनोट भएका हुन्। छनोट भएका खेलाडीमा देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, माई नगरपालिका, रोङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, इलाम नगरपालिका र माङसेबुङ गाउँपालिकाका खेलाडी रहेका छन्।

स्थानीय तहअनुसार देउमाईबाट १२, सूर्योदयबाट ११, सन्दकपुरबाट ७, माईजोगमाईबाट ५, माईबाट ५, रोङबाट ५, फाकफोकथुमबाट ४, इलाम नगरपालिकाबाट ४ र माङसेबुङबाट १ जना खेलाडी छनोट भएका छन्। यी स्थानीय तहबाट मात्रै ५४ जना खेलाडी छनोट भएका छन्। जिल्ला फुटबल संघले सार्वजनिक गरेको ५८ जनाको सूचीमा भने इलामबाहेक झापाका दुई र पाँचथरका एक जना खेलाडीसमेत समावेश छन्।

एक जना खेलाडीको विवरणमा स्थानीय तह उल्लेख गरिएको छैन। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रमअन्तर्गत हुने कोशी प्रदेशस्तरीय छनोट भदौ १३ र १४ गते धरान–१७ स्थित एन्फा एकेडेमीमा सञ्चालन हुनेछ। छनोट कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने जिल्ला फुटबल संघ इलामले जनाएको छ।

जिल्ला फुटबल संघ इलामका महासचिव विमलकाजी खम्बुको हस्ताक्षरमा जारी सूचनामा छनोट भएका खेलाडीलाई निर्धारित मिति र समयमा आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ। प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट प्रक्रियाको थप चरणमा सहभागी गराइनेछ। यस प्रक्रियाले इलामका किशोर खेलाडीलाई प्रदेश हुँदै राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहदेखि नै खेलाडी पहिचान गरी प्रदेश र राष्ट्रियस्तरमा अघि बढाउने प्रक्रियाले जिल्लाको युवा फुटबल विकासमा समेत योगदान पुग्ने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार