इलाम : निर्देशक हिकस राईको निर्देशनमा तयार पारिएको ‘यो आँखाले’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ। गायक तथा संगीतकार पवित्र गुरुङको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा इलामका चर्चित कलाकार मुकेश गुरुङ र सिकुम्मा लिम्बूले मुख्य भूमिका निर्वाह गरेका छन्।
पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा छायांकन गरिएको भिडियोमा अन्तुका आकर्षक चियाबारी, प्राकृतिक सौन्दर्य तथा पर्यटकीय स्थलहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतको भावअनुसार निर्माण गरिएको भिडियोमा मुकेश गुरुङ र सिकुम्मा लिम्बूको जीवन्त अभिनयसँगै आकर्षक अनस्क्रिन केमेस्ट्री देख्न सकिन्छ।
प्रेम र भावनालाई केन्द्रमा राखिएको गीतसँग अन्तुको प्राकृतिक वातावरणलाई संयोजन गरिएकाले भिडियोले दर्शकलाई मनोरञ्जनसँगै स्थानीय पर्यटनको दृश्यात्मक परिचयसमेत दिने देखिन्छ। विशेषगरी अन्तुको चियाबारी, हरियाली र प्राकृतिक सौन्दर्यलाई भिडियोमा प्राथमिकताका साथ प्रस्तुत गरिएकाले यसले अन्तु तथा इलामको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘यो आँखाले’ म्युजिक भिडियो पवित्र गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माण पक्षले गीत तथा भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।