Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाको १ अर्ब १८ करोडभन्दा बढीको बजेट सार्वजनिक

सूर्योदय नगरपालिकाको १ अर्ब १८ करोडभन्दा बढीको बजेट सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ३ २०८३


सूर्योदय नगरपालिकाको १ अर्ब १८ करोडभन्दा बढीको बजेट सार्वजनिक

फिक्कल । सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु १ अर्ब १८ करोड ४३ लाख ४६ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि समग्र विकास र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै बजेट सार्वजनिक गरेको हो । विनियोजित बजेटमध्ये सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ ।

यस शीर्षकअन्तर्गत रु ५४ करोड ९९ लाख ३६ हजार बजेट छुट्याइएको छ । त्यसैगरी, पूर्वाधार विकासका लागि रु ३० करोड ३५ लाख ५४ हजार, आर्थिक विकास क्षेत्रका लागि रु ८ करोड ९८ लाख ८३ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा रु १५ करोड ८ लाख ८९ हजार तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रका लागि रु ९ करोड ८४ हजार बजेट विनियोजन गरिएको छ ।

कार्यक्रम सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इलाम–१ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक निश्कल राईको प्रमुख आतिथ्यता एवम संविधानसभा सदस्यद्वय टिकाराम सुब्बा लाप्चा र सूर्यवाला राई विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे, सूर्योदय नगरपालिकाका निवर्तमान नगर प्रमुख रणबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता गंगाबहादुर महत, नेपाली कांग्रेसका उपसभापति रमेश प्रधान, नेकपा एमालेका नगर अध्यक्ष तथा पूर्व उपप्रमुख दुर्गादेवी भट्टराई, नेकपा अध्यक्ष कमल गदाल, श्रम संस्कृति पार्टीका नगर अध्यक्ष शशीभूषण मुखिया र नगर बाल सन्जालका अध्यक्ष प्रवल राईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । कार्यवाहक नगर प्रमुख बरालले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रमको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निश्कल राईले शिक्षामा गरिएको लगानीले युवाहरूलाई केवल प्रमाणपत्र बोकेर विदेशिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

शिक्षा हासिल गरेपछि आफ्नै गाउँ र समुदायमा बसेर केही गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनको भनाई थियो । उनले राजनीतिक दल र विचारधाराभन्दा माथि उठेर नगरको विकासका लागि साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे । सूर्योदय नगरपालिकामा रहेका पर्यटकीय गन्तव्य, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको उचित उपयोग गर्न सके पर्यटन क्षेत्रबाट उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने उनले बताए ।

लाप्चा संस्कृतिलाई पर्यटनसँग जोडेर नयाँ सम्भावना सिर्जना गर्न सकिने धारणा राख्दै राईले फिलिपिन्सको उदाहरण प्रस्तुत गरे । विश्वयुद्धका क्रममा भित्तामा लागेका गोलीका छापलाई समेत पर्यटकीय सम्पत्तिका रूपमा विकास गरेर पर्यटक आकर्षित गरिएको उदाहरण दिँदै उनले स्थानीय मौलिकता संरक्षण र प्रवद्र्धनमा जोड दिनुभयो। राईले प्रतिनिधिसभामा प्रवेश गर्दा इलामवासीले आफूलाई निष्कलङ्क प्रतिनिधिका रूपमा पठाएको स्मरण गर्दै पाँच वर्षपछि पनि त्यही विश्वास कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याए ।

उनले इलामवासीलाई निरन्तर खबरदारी गर्न आग्रह गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरू जनताप्रति जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे । उनले सूर्योदय नगरपालिकाका पूर्वप्रमुख रणबहादुर राईले अघि सारेका महत्वकांक्षी योजनाहरूको प्रशंसा गर्दै ती योजनालाई निरन्तरता दिन सके नगरको समृद्धि हासिल गर्न सकिने बताए । कार्यक्रमलाई सांस्कृतिक रूपमा समेत आकर्षक बनाइएको थियो ।

करफोक विद्यामन्दिरका विद्यार्थीहरूले राष्ट्रिय गान तथा सूर्योदय नगरगानको धुन प्रस्तुत गरेका थिए । गायक एवम संगीतकार भुपेन्द्र राईले सेक्सोफोन मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । पञ्चकन्या अङ्ग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीहरूले स्वागत नृत्य तथा फिक्कल माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रिय गानमा आधारित नृत्य प्रस्तुत गरेका थिए ।

यसैबीच, कार्यक्रमको अवसरमा विभिन्न १९ विधामा योगदान पु¥याउने २६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्षले सम्मानित व्यक्तिहरूलाई सम्मानपत्र, खादा र नगदसहित सम्मान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार