Local Sandesh शनिबार, साउन ३० २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन

माई नगरपालिकामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ३० २०८३


माई नगरपालिकामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन

इलाम । माई नगरपालिका स्तरीय शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ। लोदिया प्रहरी चौकी दानाबारीको सक्रियतामा माई नगरपालिका कार्यालयको सभाहलमा आयोजित भेलाबाट समिति गठन गरिएको हो।

पछिल्लो समय विभिन्न जातीय, धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुतामा खलल पुग्ने गतिविधि देखिन थालेको भन्दै सार्वजनिक शान्ति र सामाजिक सद्भाव कायम गर्न समिति गठन गरिएको हो। सम्भावित विवादको रोकथाम, समुदायबीच सुसम्बन्ध, एकता, सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले समिति गठन गरिएको समितिका सदस्य–सचिव तथा प्रहरी चौकी लोदियारदानाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक विजय कुमार राईले जानकारी दिए।

समितिको संयोजकमा माई नगरपालिकाका नगर प्रमुख खम्बासिङ लिम्बु रहनुभएको छ। उपप्रमुख हिमादेवी भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, पूर्व नगर प्रमुख दीपक कुमार थेवे, पूर्व नगर उपप्रमुख विष्णुमाया आचार्य, नगरका सबै १० वडाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नगर प्रमुख, उद्योग–व्यवसायी, निर्माण व्यवसायी, बजार व्यवस्थापन समिति, आदिवासी जनजाति तथा विभिन्न जातीय, धार्मिक र सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षण संस्थाका प्रमुख, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधि सदस्य रहेका छन्।

समितिले धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्नुअघि आयोजक, धार्मिक अगुवा तथा सरोकारवालाबीच समन्वय बैठक गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र कानूनसम्मत रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसैगरी कुनै पनि समुदायको धार्मिक भावना, परम्परा तथा संस्कृतिमा प्रतिकूल असर पार्ने, सामाजिक सद्भाव बिथोल्ने, उच्छृङ्खल गतिविधि गर्ने, हातहतियार प्रदर्शन गर्ने, भड्काउने अभिव्यक्ति दिने तथा सार्वजनिक शान्ति भङ्ग हुने कार्य हुन नदिन आवश्यक सुरक्षा तथा कानूनी व्यवस्था मिलाउने निर्णय भएको छ।

बैठकले माई नगरपालिकाको समग्र शान्ति तथा सुरक्षा अवस्था र सम्भावित जोखिमको नियमित समीक्षा गर्ने तथा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने निर्णयसमेत गरेको छ। साथै समितिबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।

समितिमा विभिन्न राजनीतिक दल, धार्मिक तथा जातीय समुदाय, नागरिक समाज, शिक्षण संस्था, व्यवसायी, सञ्चारकर्मी र सुरक्षा निकायको प्रतिनिधित्व रहेकाले माई नगरपालिकामा सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम गर्न समन्वयात्मक भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार