Local Sandesh शुक्रबार, साउन २९ २०८३
  • ट्रेण्डिङ :

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २९ २०८३


यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा  १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।

कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा  ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट  १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ ।

सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट  दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट  एक करोड २० लाख ६८ हजार ७९० सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए। त्यस्तै, आयकरबाट  ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट  ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट  नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट  २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट  ९५ लाख दुई हजार ९०० उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार