इलाम । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही ३० गते इलामको फिक्कल आउने भएका छन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्न अध्यक्ष ओली फिक्कल आउन लागेका हुन्। फिक्कलस्थित फुटसलमा आयोजना हुने कार्यक्रममा देशभरबाट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यहरूको सहभागिता रहने बताइएको छ।
साथै इलाममा रहेका नेकपा (एमाले) का नेता तथा कार्यकर्तासमेत कार्यक्रममा उपस्थित हुनेछन्। २०८२ साल फागुनमा सम्पन्न निर्वाचनपछि अध्यक्ष ओलीको राजधानीबाहिर हुने यो पहिलो कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा अध्यक्ष ओलीले आदिवासी जनजाति समुदाय, पार्टी संगठन तथा समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने तयारी रहेको एमाले नेता राज थापाले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गरेपछि अध्यक्ष ओलीले कन्याममा रहेको एक होटलमा रात बिताउने कार्यक्रम रहेको जनाइएको छ। अध्यक्ष ओलीको इलाम आगमनलाई एमालेका स्थानीय नेता तथा कार्यकर्ताले विशेष महत्वका साथ हेरेका छन्। कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।