फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका–४ (साविक फुएतप्पा) स्थित श्री सिंहदेवी आधारभूत सामुदायिक विद्यालयको चर्पी अविरल वर्षापछि पूर्ण रूपमा भासिएको छ। चर्पी प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि विद्यालयका विद्यार्थीहरू शौचालयको अभावमा समस्यामा परेका छन्।
विद्यालयका शिक्षक गोविन्द लिम्बुका अनुसार साउन १८, १९ र २० गते लगातार परेको वर्षाका कारण विद्यालय परिसरमा रहेको चर्पी पूर्ण रूपमा भासिएको हो। चर्पी प्रयोग गर्न असुरक्षित भएपछि विद्यार्थीहरूलाई दिसापिसाब गर्न समेत कठिनाइ भइरहेको उनले बताए।
घटनापछि विद्यालयले तत्काल फाकफोकथुम गाउँपालिका–४ का वडाध्यक्ष तथा प्रहरी चौकी फाकफोकथुमलाई जानकारी गराएको विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले जानकारी दिए। प्रधानाध्यापक श्रेष्ठका अनुसार प्रहरी चौकी फाकफोकथुमका इन्चार्ज रामविलास सरदार र वडा सदस्य तारवीर मगर विद्यालय पुगेर घटनास्थलको अनुगमन गरेका छन्।
उनीहरूले घटनाको मुचुल्का तयार गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचारसमेत गरिसकेको विद्यालयले जनाएको छ।