इलाम । मोरङको कानेपोखरी गाउँपालिका–केरौनमा निर्माणाधीन १३२/३३ केभी सबस्टेसन सञ्चालनमा ल्याउने तयारीस्वरूप दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा डेड–एन्ड टावर जडान गरिने भएको छ। यस कार्यका लागि शनिबार (२०८३ साउन २३ गते) बिहान ४ बजेदेखि बेलुका ४ बजेसम्म १३२ केभी प्रसारण लाइन बन्द (शटडाउन) गरिने भएकाले पूर्वी नेपालका विभिन्न जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
हाल दुहबी १३२/३३ केभी ग्रिडबाट मोरङ जिल्लाका विराटनगर, रंगेली, बेलबारी तथा सुनसरी जिल्लाका दुहबी, इटहरी र धरान क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। तर दुहबी ग्रिडको क्षमता अपुग हुँदा यी क्षेत्रमा बारम्बार लाइन ट्रिपिङ, कम भोल्टेज तथा बढ्दो विद्युत् मागअनुसार आपूर्ति गर्न कठिनाइ भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न मोरङको केरौनमा निर्माणाधीन १३२/३३ केभी सबस्टेसनलाई दुहबी–दमक १३२ केभी प्रसारण लाइनबाट ट्यापिङ गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो। सोही कार्यअन्तर्गत डेड–एन्ड टावर जडान गर्न आवश्यक भएकाले १२ घण्टाको शटडाउन गर्न लागिएको हो।
शटडाउन अवधिभर झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाभर तथा मोरङ जिल्लाको उर्लाबारी क्षेत्रतर्फ विद्युत् आपूर्ति पूर्ण रूपमा प्रभावित हुने जनाइएको छ। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताहरूलाई शटडाउन अवधिमा आवश्यक तयारी गर्न तथा विद्युत् सेवा अवरुद्ध हुने असुविधाप्रति क्षमायाचना गर्दै दीर्घकालीन रूपमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि उक्त कार्य अपरिहार्य रहेको जनाएको छ।