इलाम : लगातारको वर्षासँगै पूर्वी पहाडका जिल्लाहरूमा जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। पहाड-तराई जोड्ने प्रमुख सडकहरू पटक-पटक अवरुद्ध हुँदा वैकल्पिक सडकसमेत जीर्ण र जोखिमपूर्ण बनेका छन्। यसले अत्यावश्यक वस्तुको आपूर्ति, स्वास्थ्य सेवा, यातायात र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पारेको छ। मेची राजमार्ग अन्तर्गत माइखोला-राजदुवाली खण्डमा हरेक समय पहिरो र लेदो खस्दा सडक अवरुद्ध हुने क्रम जारी छ। यसका कारण इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमलगायतका जिल्ला प्रभावित बन्दै गएका छन् ।
गोलाखर्क(बेलासे सडकको पुवाखोला डाइभर्सन दिगो बन्न सकेको छैन भने तिल्केनी-सिमल गोलाई सडकको अवस्था पनि उस्तै रहेको स्थानीय बताउँछन्। प्रमुख राजमार्ग बन्द हुँदा सर्वसाधारण वैकल्पिक सडक प्रयोग गर्न बाध्य भए पनि ती सडकसमेत वर्षाका कारण अवरुद्ध र जोखिमपूर्ण बन्दै गएका छन्। ग्रामीण भित्री सडकको अवस्था झनै नाजुक छ।
राँके-रबि–दमक सडक, राँके-भेडेटार सडक तथा तमोर करिडोरलगायतका वैकल्पिक मार्गहरू पनि वर्षाका कारण सहज रूपमा सञ्चालन हुन सकेका छैनन्। पूर्वी पहाडको महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा हेरिएको तमोर करिडोरमा नावा खोलालगायत विभिन्न स्थानमा बारम्बार सडक अवरुद्ध हुँदा यात्रु र ढुवानी सेवा प्रभावित भएका छन्।
निर्माणाधीन राँके-रवि-भेडेटार सडक अझै सम्पन्न हुन नसक्दा अपेक्षित राहत मिल्न सकेको छैन भने दमक-सिसापानी-रबि सडकको अवस्था पनि सन्तोषजनक छैन। राजदुवाली(माइखोला सडक बन्द हुँदा वैकल्पिक रूपमा प्रयोग गरिने तिल्केनी-सिमल गोलाई सडकसमेत डाभर्सन बगाउँदा यात्रा झन् कष्टकर बनेको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न, एलपी ग्यास, औषधि तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या देखिन थालेको छ।
ढुवानी प्रभावित हुँदा बजारमा अभाव र महँगी बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन र आवश्यक सामग्री पहाडमा भित्र्याउन कठिनाइ हुँदा किसान र व्यवसायीसमेत प्रत्यक्ष प्रभावित भएका छन्। स्वास्थ्य सेवा पनि प्रभावित बनेको छ। आपतकालीन अवस्थामा बिरामीलाई समयमै अस्पताल पुर्याउन कठिन भइरहेको स्थानीयको भनाइ छ।
सडकको खराब अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स सञ्चालनसमेत प्रभावित हुँदा गम्भीर बिरामीको उपचारमा ढिलाइ हुने जोखिम बढेको छ। स्थानीयका अनुसार माइखोला-राजदुवाली क्षेत्रमा वर्षेनी दोहोरिने सडक अवरोधको दीर्घकालीन समाधान अझै हुन सकेको छैन। प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै यही समस्या दोहोरिने गरेको र त्यसको प्रत्यक्ष असर पूर्वी पहाडको जनजीवन तथा स्थानीय अर्थतन्त्रमा पर्ने गरेको उनीहरू बताउँछन्।
स्थानीयवासीले अब अस्थायी मर्मतले मात्र समस्या समाधान नहुने भन्दै पहाड-तराई जोड्ने प्रमुख तथा वैकल्पिक सडकहरूको दिगो व्यवस्थापन, पहिरो नियन्त्रण, समयमै मर्मत, आवश्यक स्थानमा बेली ब्रिज जडान तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार सडक सञ्जाललाई सुरक्षित र भरपर्दो बनाउन नसके प्रत्येक वर्ष वर्षायाममा पूर्वी पहाडका नागरिकले उस्तै सास्ती व्यहोर्नुपर्ने अवस्था दोहोरिरहनेछ।