Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक, दुई नवकलाकारको डेब्यु

फिक्कलमा एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक, दुई नवकलाकारको डेब्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १८ २०८३


फिक्कलमा एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक, दुई नवकलाकारको डेब्यु

फिक्कल । सामाजिक सञ्जालमा बढ्दो भाइरल सामग्रीको भीडबीच सिर्जनशील र गुणस्तरीय कलालाई प्राथमिकता दिने उद्देश्यसहित इलामको फिक्कलमा एकै दिन दुई वटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ। एचकेआर प्रोडक्सन हाउसले शनिबार फिक्कलस्थित एकम होटलमा आयोजना गरेको कार्यक्रममा दुई नयाँ कलाकारलाई म्युजिक भिडियोमार्फत डेब्यु गराउँदै दुई गीतका भिडियो एकसाथ सार्वजनिक गरेको हो।

सूर्योदय नगरपालिका–९ का वडा अध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्य तथा वडा नं। २ का अध्यक्ष डिक बम्जनको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कलाकार मुकेश गुरुङ (फिक्कल बोई) र अंकिता अधिकारी अभिनित ‘तिर्खाले खोली धाएको’ तथा मुकेश गुरुङ र सिकुम्मा लिम्बु अभिनित ‘यो आँखामा’ बोलका म्युजिक भिडियो सार्वजनिक गरिए।

कार्यक्रमको केन्द्रमा कलाकार मुकेश गुरुङ र निर्देशक हिक्स राईको सहकार्य रहेको थियो। पछिल्लो समय उनीहरूले सूर्योदय नगरपालिकाको प्राकृतिक सौन्दर्यलाई म्युजिक भिडियोमार्फत प्रवर्द्धन गर्दै स्थानीय कलाकारलाई अवसर सिर्जना गर्ने अभियानलाई निरन्तरता दिँदै आएका छन्। कला केवल मनोरञ्जनको माध्यम मात्र नभई नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने साझा मञ्च बन्न सक्ने विश्वासका साथ उनीहरू सक्रिय रहेको आयोजकले जनाएको छ।

प्रमुख अतिथि देवेन्द्र शर्माले अभिनय कला आफूलाई पनि रुचिको विषय भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दै गएको भाइरल प्रवृत्तिप्रति कलाकार सचेत हुनुपर्ने आवश्यकता औँल्याए। कलाकारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र स्तरिय सिर्जनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

विशेष अतिथि डिक बम्जनले स्थानीय सरकारले कलाकार प्रोत्साहनमा ध्यान दिइरहेको उल्लेख गर्दै कलाकारलाई केवल मनोरञ्जनकर्मीका रूपमा नभई राष्ट्रको सांस्कृतिक सम्पत्तिका रूपमा हेर्नुपर्ने धारणा राखे। उनले कलाकारले निरन्तर सिर्जनात्मक यात्रालाई अघि बढाउनुपर्नेमा जोड दिए।

‘तिर्खाले खोली धाएको’ गीतमा दीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत तथा सन्तोष राई र सोनिया गम्बोको स्वर रहेको छ। त्यसैगरी ‘यो आँखामा’ गीतको शब्द, संगीत तथा स्वर पवित्रा गुरुङको रहेको छ। विमोचन समारोहमा पूर्व सूर्योदय नगर बाल सञ्जाल अध्यक्ष तथा बालअधिकारकर्मी निरज चाम्लिङ राईसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कलाकार तथा व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो।

मेकअप आर्टिस्ट सिन्जुललगायत अतिथिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो। कार्यक्रममा वितरण गरिएको मायाको चिनो श्रीनिधि हस्पिटल, फिक्कलको सौजन्यमा उपलब्ध गराइएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय कलाकारको क्षमता अभिवृद्धि गर्नुका साथै सूर्योदय क्षेत्रको प्राकृतिक सौन्दर्यलाई राष्ट्रियस्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार