Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा १२० मिटर लामो सिसाको पुल तयार, असोजमा उद्घाटन गरिने

सूर्योदयमा १२० मिटर लामो सिसाको पुल तयार, असोजमा उद्घाटन गरिने

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १६ २०८३


सूर्योदयमा १२० मिटर लामो सिसाको पुल तयार, असोजमा उद्घाटन गरिने

फिक्कल । कोशी प्रदेशको पर्यटकीइ नगरी सूर्योदय नगरपालिकाले साहसिक पर्यटनमा नयाँ पहिचान थप्ने उद्देश्यसहित निर्माण गरिरहेको १२० मिटर लामो अत्याधुनिक सिसाको पुल अन्तिम चरणमा पुगेको छ। सूर्योदय नगरपालिका–८ मानेडाँडामा संघीय सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त पुल आगामी असोज महिनामा विश्व पर्यटन दिवसको अवसर पारेर औपचारिक रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ।

२०७९ सालमा बीएटी निर्माण कम्पनीले ७ करोड ६१ लाख ७८ हजार ३७१ रुपैयाँमा ठेक्का लिएको यस परियोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिए। उनका अनुसार पुलमा विशेष प्रकारको सिसा जडान गर्ने काम सकिएको छ भने अब विद्युत् जडान, टायल बिछ्याउने, सौन्दर्यकरण र भ्यू–पोइन्ट निर्माणजस्ता अन्तिम काम मात्र बाँकी छन्।

१२० मिटर लम्बाइ र ६० मिटर उचाइ रहेको यो पुलमा प्रयोग गरिएको विशेष प्रविधिको सिसा हिँड्दा केही स्थानमा चर्किएको जस्तो देखिने भए पनि त्यसले सुरक्षामा कुनै असर नगर्ने इन्जिनियर सुवेदीले बताए। पर्यटकलाई रोमाञ्चक अनुभूति दिलाउने उद्देश्यले यस्तै विशेष संरचनाको सिसा प्रयोग गरिएको उनको भनाइ छ।

कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले निर्माण कम्पनीले सम्पूर्ण काम सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेपछि मात्रै पुल सञ्चालनमा ल्याइने बताए। उनका अनुसार सिसाको पुल सञ्चालनमा आएपछि सूर्योदय नगरपालिकाको मात्र होइन, समग्र इलाम जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। उनले साहसिक पर्यटनमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ पूर्वाधार निर्माण गरिएको उल्लेख गरे।

नगरपालिकाले पुल सञ्चालनको जिम्मेवारी आफैं लिने तयारी गरेको छ। पुलमा प्रवेशका लागि स्वदेशी र विदेशी पर्यटकका लागि फरक–फरक शुल्क निर्धारण गरिनेछ। दैनिक सयौं पर्यटक आकर्षित हुने अपेक्षासहित सञ्चालन व्यवस्थापनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

मानेडाँडा क्षेत्र प्रायः कुहिरोले ढाकिरहने भएकाले वर्षभरि सबै मौसममा पुल खुला राख्न भने सम्भव नहुन सक्ने जनाइएको छ। मौसम खुलेका बेला यहाँबाट झापाका विस्तृत फाँट, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी तथा हिमाली शृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरिसकेको सूर्योदय नगरपालिका कन्याम र अन्तुका कारण पहिलेदेखि नै चर्चित गन्तव्य हो। अब सिसाको पुल सञ्चालनमा आएपछि कन्याम, अन्तु, थुम्केडाँडा, चित्रे गुम्बा, बुद्ध पार्क, स्वामी पार्क, फेन्सोङ गुम्बा, जिमी राजा–जिमी रानी, पशुपतिनगर वनवाटिका र तीनतले झरनालगायतका पर्यटकीय गन्तव्यसँग जोडिएर सूर्योदयको पर्यटनले थप उचाइ लिने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार