Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कक्रोचको यात्रा : अनलाइन ठट्टाबाट सुरु भएको अभियानले सरकारलाई घुँडा टेकायो

कक्रोचको यात्रा : अनलाइन ठट्टाबाट सुरु भएको अभियानले सरकारलाई घुँडा टेकायो

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ९ २०८३


कक्रोचको यात्रा : अनलाइन ठट्टाबाट सुरु भएको अभियानले सरकारलाई घुँडा टेकायो

नयाँ दिल्ली — भारतका केन्द्रीय शिक्षामन्‍त्री धर्मेन्द्र प्रधानले राजीनामा गरेका छन् । चिकित्सा शास्त्रको योग्यता तथा प्रवेश परीक्षा (नीट) को प्रश्‍नपत्र चुहावट भएपछि उनी विवादमा तानिएका थिए । भारतमा युवाहरुले यसको नैतिक जिम्मेवारी लिदैं प्रधानले राजीनामा दिनुपर्ने माग राखेका थिए । तर प्रधान र प्रधानमन्‍त्री नरेन्द्र मोदी दुबैले यस मागलाई बेवास्ता गरे ।

सामाजिक सञ्जाल र अनलाइनमै सिमित रहेको उक्त आक्रोशले सामुहिक रुप लिएर अन्‍ततस् सरकारलाई नै घुँडा टेकाइदिएको छ । यो सबै आन्दोलनको नेतृत्व कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको छ । सीजेपीको स्थापना गएको मे महिनामा ३० वर्षीय अभिजीत दीपकेले गरेका हुन् । हालसालै अमेरिकाको विश्वविद्यालयबाट स्नातक गरेका दीपके भारतको सर्वोच्च अदालतमा भएको एक सुनुवाइका क्रममा भारतका प्रधान न्यायाधीश सूर्यकान्तले देशका बेरोजगार युवाहरूलाई ‘परजीवी’ र ‘साङ्लो’ भनी तुलना गरेको सुनेर अत्यन्तै आक्रोशित भएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो देशका लाखौं साङ्लाहरु एक भए भने के होला ?’ उनको उक्त पोस्ट इन्स्टाग्राममा भाइरल भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत कक्रोज जनता पार्टी (सीजेपी) स्थापना भएको घोषणा गरे । भारतीय जनता पार्टीं (बीजेपी) लाई व्यङ्ग्य गर्नेगरी पार्टीलाई सीजेपी नाम दिइएको थियो । अनलाईनमार्फत यसको सदस्यता लिन सकिने भन्दै अनलाईन लिंक पनि सामाजिक सञ्जालका पोस्टहरुमा राखिएको थियो ।

छोटो समयमै यसलाई भारतमा ठूलो संख्यामा युवाहरुले फलो गर्न थाले । स्थापना भएको दुई हप्ताभित्रै सीजेपी को इन्स्टाग्राम पेजमा २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगे, जसले सत्तारूढ बीजेपीलाई समेत पछि छाड्यो । आलोचना सहन नसक्ने मोदी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सीजेपीका सामाजिक सञ्जाल एकाउन्टहरु प्रतिबन्धित गर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

सीजेपीले आफ्नो स्थापनादेखि नै शैक्षिक सुधारको पैरवी गरेको थियो । नीटमा प्रश्नपत्र चुहावट भएको पत्ता लागेपछि सरकारले परीक्षा स्थगित गर्दा २० लाख परीक्षार्थीहरु दोहोर्‍याएर परीक्षा दिनुपर्ने अवस्थामा पुगे । यस घटनापछि भारतमा परीक्षाको तयारी गरिररहेका १२ जना विद्यार्थीहरुले आत्महत्या पनि गरे । सीजेपीले विद्यार्थीको परिवारलाई क्षतिपुर्ति र शिक्षामन्त्रीको राजीनामाको माग राख्यो । जुन महिनाको सुरुमा सीजेपीले राजनीतिक पार्टीका रुपमा आफुलाई दर्ता गर्‍यो । त्यसपछि नयाँ दिल्लीमा विरोध प्रदर्शन राख्यो । अमेरिकाबाट फर्किएर अभिजित दिपकेले यस प्रदर्शनको नेतृत्व गरेका थिए ।

भर्चुअल दुनियाँमा सक्रिय सीजेपीले भौतिक रुपमा गरेको यो पहिलो प्रदर्शन थियो । यसमा ठूलो संख्यामा युवाहरु सहभागी भए । विशेषगरी, भारतको जेन्जी र मिलेनियल पुस्ताका युवाहरुले प्रदर्शनमा सहभागी भएर शैक्षिक सुधारको माग गरे । त्यस्तै, उनीहरुले नातावाद र शक्ति दुरुपयोगको पनि विरोध गरेका थिए । हालैको एक अध्ययन अनुसार, २५ वर्षभन्दा कम उमेरका भारतका करिब ४० प्रतिशत स्नातक पास गरेका विद्यार्थीहरू बेरोजगार छन् । जुन महिनाकै अन्त्यतिर सीजेपीले दिल्लीको जन्तर–मन्तरमा धर्ना दिने निर्णय गर्‍यो ।

युवाहरुले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म त्यस स्थानबाट नहट्ने अठोट गरे । यस प्रदर्शनमा पर्यावरण अभियन्ता तथा लद्दाखका प्रख्यात इन्जिनियर सोनम वाङगचुक पनि सहभागी थिए । उनले प्रदशर्नको समर्थन गर्दै भोक हड्ताल सुरु गरे । २० जुलाईको ‘संसद् चलो’ प्रदर्शनका क्रममा ठूलो संख्यामा आन्दोलनकारी संसद् मार्गमा भेला भए । त्यसक्रममा प्रहरीसँग मुडभेड हुँदा ठूलो संख्यामा आन्दोलनकारी घाइते भए । त्यसपछि सीजेपीले लगातार ६ दिन प्रदर्शन गर्‍यो ।

यस अवधिमा वाङचुकले २६ दिनसम्म लगातार भोक हड्ताल गरे । बिहीबार मध्यराति सरकारले दुईवटा माग पूरा गर्ने लिखित आश्वासन दिएपछि अनशन तोडेको उनले बताएका छन् । सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डाले नीट प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीको परिवारलाई क्षतिपुर्ति दिने र आन्दोलनमा संलग्नहरुमाथि कारबाही नगर्ने लिखित आश्वासन दिएको उनले बताएका थिए ।

पछिल्लो समय सीजेपीको आव्हानमा देशका विभिन्‍न शहरमा प्रदर्शन भइरहेको थियो । कंग्रेस आईसहित विभिन्‍न विपक्षी दलहरुले सीजेपीलाई यस प्रदर्शनमा समर्थन गरेका थिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार