इलाम । इलामको सूर्योदय नगरपालिका–१० ले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजस्व संकलन गरेको छ। वडा कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ लाख ५६ हजार ८५३ रुपैयाँ १३ पैसा राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो घटेर ७२ लाख ८० हजार २३२ रुपैयाँ ९६ पैसामा सीमित भएको हो।
दुई आर्थिक वर्षको तुलना गर्दा कुल राजस्व २ लाख ७५ हजार ६२० रुपैयाँ १७ पैसाले अर्थात् करिब ३.६५ प्रतिशतले घटेको देखिएको छ। सबैभन्दा बढी योगदान रहने भूमिकर र मालपोतबाट प्राप्त हुने राजस्व ३६ लाख २५ हजार १२१ रुपैयाँ ६० पैसाबाट घटेर ३२ लाख ६ हजार ६ रुपैयाँ ४० पैसामा झरेको छ। यस शीर्षकमा मात्रै ४ लाख १९ हजार ११५ रुपैयाँ २० पैसाको कमी आएको छ, जसले तुलनात्मक रुपमा राजस्व घटेको देखिन्छ ।
बहाल कर भने १६ लाख १० हजार ५५९ रुपैयाँ ३० पैसाबाट बढेर १७ लाख १० हजार ४५९ रुपैयाँ ४५ पैसा पुगेको छ। सम्पत्ति कर पनि ४ लाख ३५ हजार ८६५ रुपैयाँ ३० पैसाबाट बढेर ४ लाख ६५ हजार २६२ रुपैयाँ २० पैसा पुगेको छ। व्यवसाय रजिष्ट्रेशन दस्तुरमा समेत उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष १० लाख ८७ हजार २२६ रुपैयाँ संकलन भएकोमा चालु आर्थिक वर्षमा १२ लाख ३८ हजार २२१ रुपैयाँ पुगेको छ, जसले व्यवसाय दर्ता तथा नवीकरणको दायरा विस्तार भएको संकेत गर्छ।
यता सवारी साधन कर ९साना सवारी० ५५ हजार ८०० रुपैयाँबाट घटेर ४२ हजार ६३२ रुपैयाँमा झरेको छ। अन्य कर पनि ६४ हजार २१२ रुपैयाँबाट ४६ हजार ६३२ रुपैयाँमा घटेको छ। अन्य प्रशासनिक सेवा शुल्क १६ हजार रुपैयाँबाट ९ हजार ५१० रुपैयाँमा सीमित भएको छ। सिफारिस दस्तुर ४ लाख ९३ हजार ७०९ रुपैयाँ ६८ पैसाबाट घटेर ४ लाख ३० हजार ९० रुपैयाँ ९१ पैसा पुगेको छ।
नाता प्रमाणित दस्तुर ४७ हजार ६५० रुपैयाँबाट ३१ हजार ७०० रुपैयाँमा झरेको छ भने अन्य दस्तुर ४७ हजार ६५० रुपैयाँबाट १५ हजार ८०० रुपैयाँमा सीमित भएको छ। व्यक्तिगत घटना दर्ता दस्तुर भने दुवै आर्थिक वर्षमा ७३ हजार २०० रुपैयाँ बराबर रहेको छ। राजस्व संरचनाको विश्लेषण गर्दा भूमिकररमालपोतमा आएको उल्लेख्य गिरावटले कुल राजस्व प्रभावित भएको देखिन्छ।
यद्यपि सम्पत्ति कर, बहाल कर र व्यवसाय रजिष्ट्रेशन दस्तुरमा भएको वृद्धिले राजस्वको आधार विस्तार हुने संकेत गरेको छ। आगामी वर्ष भूमिकर तथा अन्य सेवा शुल्कतर्फ संकलन बढाउन सके वडा कार्यालयको समग्र आन्तरिक आयमा सुधार आउने अपेक्षा गरिएको छ।