काठमाडाैँ । श्रीलङ्काको जनमुक्ति विमुक्ति पेरामुना जेभीपी का महासचिव टिल्भिन सिल्भा र नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज बट्टरामुल्लास्थित पेलावट्टेमा रहेको जेभीपीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा दुवै नेताबीच जनमुक्ति विमुक्ति पेरामुना र नेसनल पिपुल्स पावर सत्तामा पुग्नुअघि राजनीतिक शक्तिका रूपमा तय गरेको यात्रा तथा त्यस क्रममा हासिल भएका अनुभवबारे विचार आदानप्रदान भएको थियो । साथै, नेपाल कम्युनिष्ट पार्टीले नेपालको राजनीतिक परिवेशमा हासिल गरेको अनुभवका विषयमा पनि छलफल गरिएको थियो ।
छलफलका क्रममा एनपीपी सरकार सत्तामा आएपछि श्रीलङ्काको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अवलम्बन गरिएका नीतिहरू, सार्वजनिक सेवाका कर्मचारी तथा बगान क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिक वृद्धि गर्न चालिएका कदम, राजनीतिक क्षेत्रमा व्याप्त भ्रष्टाचार नियन्त्रणका प्रयास तथा विशेषाधिकारमा आधारित राजनीतिक संस्कृतिलाई पारदर्शिता, जवाफदेहिता र सुशासनमा आधारित संस्कृतिमा रूपान्तरण गर्न गरिएका सुधारका विषयमा समेत विस्तृत रूपमा छलफल भएको थियो ।
यस अवसरमा हाल श्रीलङ्काभर सञ्चालनमा रहेको ‘क्लिन श्रीलङ्का’ अभियान तथा लागूऔषध नियन्त्रणका लागि सरकारले अवलम्बन गरेका उपायहरूबारे पनि विचारविमर्श गरिएको थियो ।
भेटवार्तामा भारतीय कम्युनिस्ट पार्टी तथा ट्राइकन्टिनेन्टल सामाजिक अनुसन्धान संस्थान का विजय प्रसाद, पूर्वी चीन नर्मल विश्वविद्यालयका प्राध्यापक सिन्यु लु, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य बलराम बनकोटा, नेपाल कम्युनिस्ट पार्टीकी सदस्य गंगा दाहाल तथा इन्टरनेसनल पिपुल्स एसेम्ब्लीका प्रतिनिधि टिङ्स चाक पनि सहभागी थिए।
जेभीपीको तर्फबाट केन्द्रीय समिति सदस्य एवं वातावरण मन्त्री धम्मिका पटाबेन्दी, श्रम राज्यमन्त्री महिन्दा जयसिंघे, जेभीपी अन्तर्राष्ट्रिय समितिका सदस्य तथा समाजवादी विद्यार्थी सङ्घका राष्ट्रिय संयोजक रंगना देवप्रिया र अन्तर्राष्ट्रिय समितिकी सदस्य कल्पना मधुभाषिणीको पनि सहभागिता रहेको थियो ।