इलाम । इलामको माई नगरपालिका–८ स्थित मैनाचुली सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा माई नगरपालिका–४ दानाबारी निवासी २९ वर्षीय विकल गहतराज रहेका छन्। प्रहरीका अनुसार गहतराजले चलाएको मे १० प ८९५७ नम्बरको डुक मोटरसाइकल वन क्षेत्रमा सडक किनारमा रोकेको अवस्थामा फेला परेको थियो।
मोटरसाइकल रोकेको स्थानभन्दा तल खोल्सीमा उनी अचेत अवस्थामा भेटिएका थिए। स्थानीयवासीले जंगलबाट कराएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए। स्थानीय राजु दंगालका अनुसार गहतराज छटपटाइरहेको अवस्थामा फेला परेका थिए। त्यसपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए।
प्रहरी र स्थानीयको संयुक्त प्रयासमा उनको उद्धार गरी उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको शव हाल दमक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।