इलाम । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय इलामको आयोजनामा चेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ।
चेतना नाट्य समूह इलामद्वारा प्रस्तुत नाटकले लागुऔषध दुरुपयोगका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असर तथा त्यसको रोकथामका उपायबारे सशक्त सन्देश दिएको थियो।
कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नाटकमा सरिता राई, रेबिका तोलाङ्गी, गुणराज देवान, रोजन गुरुङ, मानिस विश्वकर्मा र निशान खतिवडाले अभिनय गरेका थिए। नाटकको निर्देशन अनवेश थुलुङले गरेका थिए।
पछिल्लो समय इलाममा लागुऔषध प्रयोग तथा अवैध ओसारपसारका गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कार्यक्रममार्फत यसको न्यूनीकरणका लागि प्रत्येक व्यक्ति, परिवार, समाज, विभिन्न संघसंस्था, स्थानीय सरकार तथा सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको सन्देश प्रवाह गरिएको थियो।
आयोजकका अनुसार यस्ता चेतनामूलक कार्यक्रमले लागुऔषधविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्दै सुरक्षित, स्वस्थ र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।