रेडपाण्डा, आकर्षक छ । लजालु छ र लोपोन्मुख पनि हो । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान इलाम जिल्ला हो । समुन्द्र सतहबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटरसम्मका जंगल रेडपाण्डाको बसोबास क्षेत्र हुन् । हाब्रे, रातोपाण्डा, पुँडे कुँदो नामले परिचित छ, रेडपाण्डा । लोपोन्मुख वन्यजन्तु रेडपाण्डा नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइन्छ । रातो, सेतो, खैरो, खिया रङ हुने रेडपाण्डाको वैज्ञानिक नाम ailurus fulgens हो ।
२५ सेन्टिमिटरसम्म उचाई हुने रेडपाण्डाको ५९ सेन्टिमिटरसम्म लम्बाई हुने र पुच्छर ५९ सेन्टीमिटरसम्म लामो हुन्छ । ९ केजिसम्म लामो हुने रेडपाण्डा रुख चढ्ने, रुखमै सुत्ने एक्लै बस्न मनपराउने वन्यजन्तु हो । बाँस प्रजातिको मालिङ्गो, निगालोको टुसा, पात, मुना, जंगली फलफुल, ऐसेलु, स–साना किराहरुपनि रेडपाण्डाको आहार हुन् ।
नेपालको इलाम, पाँचथर, ताप्लेजुङ्ग, सोलुखुम्बु, कालिकोट, रसुवा सहित २५ जिल्लामा बसोबास रहेको रेडपाण्डाको विश्वभर १० हजार र नेपालमा ५ सयसम्म जनसंख्या रहेको अध्ययनमा पाइन्छ । औषत आयु १० वर्षसम्म रहेको रेडपाण्डाले १ सय ३५ दिनसम्ममा १ देखि चार ओटासम्म बच्चा जन्माउने गरेको छ ।रेडपाण्डाको बसोबासले गर्दा इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका, इलाम र सुर्योदय नगरपालिका भित्रका वन क्षेत्रमा ‘रेडपाण्डामा आधारित पर्या–पर्यटन’ को विकास भएको छ ।
सन्दकपुर गाउँपालिका भित्रका चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, अधिकारीबास, कैयाकट्टा, जौबारी ‘रेडपाण्डा पर्यापर्यटन’को विकास भएको छ । रेडपाण्डा पर्यापर्यटन माईजोगमाई गाउँपालिकाको थुम्केरानी, इलाम नगरपालिकाको पाटेनागी र सुर्योदय नगरपालिकाको थुम्के क्षेत्रमा विकास भएको छ ।
रेडपाण्डा संरक्षणमा इलाम नगरपालिका
रेडपाण्डाको संरक्षणका लागि इलाम नगरपालिका–३ मा अवस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६.२१ हेक्टर वन क्षेत्रलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार इलाम नगरपालिकाको नगरसभाबाट पास भएको स्थानीय वन ऐन अनुसार पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ ।
पुवामझुवा क्षेत्रमा गरिएका कामको अनुगमन मुल्याङ्कन, प्रचार प्रसार, सामुदायिक वन क्षेत्रको कार्ययोजना नविकरणमा सहयोग र रेडपाण्डाको आहारका लागि आवश्यक बिरुवाहरुको वृक्षारोपण समेत गरिएको छ । रेडपाण्डा संरक्षणका कार्यक्रमले स्थानीय समुदाय स्वःजागरुक भई रेडपाण्डा संरक्षणमा हातेमालो भइ घाइते रेडपाण्डाको पुनरुत्थानमा सहयोग पुगेको छ ।
जनसमुदायले डिभिजन वन कार्यालयसँग समन्वय गरि रेडपाण्डा चोरी शिकारी नियन्त्रणमा अग्रसर भइ डिभिजन वन कार्यालयमा सुचना दिने र वन क्षेत्रमा रेडपाण्डाको आहार प्रजातिहरुको संरक्षणमा सक्रिय हुर्दै आएका छन् । रेडपाण्डाको वासस्थानमा सुधार भएको छ । रेडपाण्डा देखिने बारम्बारता र सम्भावना (Red panda sighting frequency and possibility) अभिवृद्धि भएको छ ।
रेडपाण्डा संरक्षणमा स्थानीय तहका जनप्रतिनिधिहरुको चासो र सहकार्यमा अभिवृद्धिसँगै रेडपाण्डा नेटवर्क नामक संस्थाले रेडपाण्डा संरक्षण अभियानलाई प्रमुख कार्यक्रमको रुपमा लिइ संरक्षणका क्रियाकलापहरु संचालन भएका छन् । कोशी प्रदेशको नीति तथा कार्यक्रममा रेडपाण्डा संरक्षणलाई समेटिनु मुख्य उपलब्धि हो । रेडपाण्डा संरक्षण र बासस्थानका अवसरले स्थानीय समुदाय आफैँ रेडापाण्डा संरक्षणमा अग्रसर भएका छन् । जसबाट रेडपाण्डाको बासस्थान बढ्दै गएको छ ।
रेडापाण्डाको बासस्थान सामुदायिक र सरकारद्धारा व्यवस्थित वन क्षेत्रमा बढेको छ । सामुदायिक वनहरुमा रेडपाण्डामा आधारित पर्या–पर्यटन प्रवद्र्धनका काम भएपछि सामुदायिक वनको आम्दानीसँगै समुदायको समेत आयआर्जनको माध्यम भएको हो । इलाम नगरपालिकाले दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि विभिन्न महत्वपूर्ण कार्यहरू सञ्चालन गर्दै आएको छ । विशेष गरी वडा नं. ३ को पाटेनागी क्षेत्रलाई केन्द्र बनाएर संरक्षणका कार्यक्रमहरू अघि बढाइएका छन् ।
रेडपाण्डा नेटवर्कको सहकार्यमा सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो । पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रभित्रको करिब १ सय १६.२१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको इलाम नगर प्रमुख केदार थापाले बताए ।
उनी भन्छन्–‘रेडपाण्डाको बासस्थान संरक्षण गर्ने मुख्य उदेश्यका साथ रेडपाण्डा नेटवर्कको सहकार्यमा संरक्षण क्षेत्र घोषणा गरिएको हो । रेडपाण्डा बसोबास गर्ने वन क्षेत्र, विशेषगरी बाँस पाइने लेकाली वनहरूको संरक्षण र व्यवस्थापनमा इलाम नगरपालिकाले जोड दिँदै आएको छ । जसमा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य हुँदै आएको हो ।
स्थानीय सामुदायिक वन समूह, संरक्षणकर्मी र स्थानीय समुदायको सहभागितामा संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो । समुदायको सहभागितामा संरक्षण कार्यक्रम संचालन गरिएपछि पर्यावरणीय चेतना अभिवृद्धिमा सहयोग पुगेको इलाम नगरपालिका–३ का निवर्तमान अध्यक्ष तिर्थ गुरुङले बताए ।
चेतना अभिवृद्धिका कार्यक्रमहरुमा स्थानीयवासी, विद्यार्थी तथा सरोकारवालामाझ रेडपाण्डाको महत्व र संरक्षणबारे जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
रेडपाण्डा संरक्षण क्षेत्र घोषणाले पर्यावरणमैत्री पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए । इलाम र पाँचथर सीमा क्षेत्र पाटेनागी कुइभिर क्षेत्र पर्यटन प्रवद्र्धनको संभावना भएको क्षेत्र हो । जहाँबाट दर्जनौ हिमश्रङ्खलाहरुको दृश्यावलोकन गर्न सकिने भएकाले रेडपाण्डाको माध्यमबाट पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने रेडपाण्डा नेटवर्क अन्तरगत इलाम र पाँचथरमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रममा इलाम संयोजक राम रिमालले बताए ।
पाटेनागी क्षेत्रलाई रेडपाण्डा संरक्षणसँगै प्रकृति तथा इको–पर्यटन गन्तव्यका रूपमा विकास गर्ने पहल गरिएको छ । नगरपालिकाले जैविक विविधता संरक्षणमा प्राथमिकता दिएर पाटेनागी क्षेत्रमा रेडपाण्डा संरक्षण केन्द्र घोषणा गरेको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । ‘नगरपालिकाको नीति तथा कार्यक्रमहरूमा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखिएको छ । यी प्रयासहरूले इलाम नगरपालिकालाई स्थानीय तहबाट रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरी संरक्षण अभियान सञ्चालन गर्ने अग्रणी पालिकामध्ये एक बनाएको छ ।’
पर्यटनको माध्यम रेडपाण्डा
इलाम नगरपालिका दुर्लभ वन्यजन्तु रेडपाण्डालाई संरक्षणसँगै पर्यटन विकासको नयाँ आधारका रूपमा अघि बढाउन सक्रिय हुने इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । उनी भन्छन्–‘नगरपालिकाले वडा नं. ३ स्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रलाई ‘सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र’ घोषणा गर्दै संरक्षण र पर्यटनलाई एकसाथ जोड्ने नीति लिएको छ । रेडपाण्डा विश्वमै दुर्लभ र आकर्षक वन्यजन्तु भएकाले यसको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको चासो बढिरहेको छ । इलाममा रहेका घना वन, जैविक विविधता र शान्त प्राकृतिक वातावरणले रेडपाण्डा अवलोकन पर्यटनको ठूलो सम्भावना बोकेको छ ।
नगरपालिकाले रेडपाण्डा केन्द्रित पदमार्ग निर्माण, होमस्टे सञ्चालन, प्रकृति मार्गदर्शकको विकास, वन्यजन्तु अवलोकन कार्यक्रम तथा संरक्षण सचेतनामूलक गतिविधि सञ्चालन गर्न सकेमा रेडपाण्डा पर्यटनको प्रमुख आकर्षण बन्ने केचना कञ्चनजंघा पर्यटन विकास समिति निवर्तमान कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । उनी भन्छन्–‘ यसले स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्नुका साथै होटल, यातायात, स्थानीय उत्पादन र हस्तकलाको बजार विस्तारमा समेत योगदान पु¥याउने छ ।’
पर्यटन विज्ञहरूका अनुसार इलामको पहिचान चिया, हरियाली र प्राकृतिक सौन्दर्यसँग मात्र सीमित नरही रेडपाण्डा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना छ । संरक्षण र दिगो पर्यटनलाई सन्तुलित रूपमा अघि बढाउन सके रेडपाण्डा इलाम नगरपालिकाको नयाँ पर्यटन ब्रान्ड बन्न सक्ने देखिन्छ ।
पर्यटन प्रवर्द्धनमा थप गर्नुपर्ने संरचना
दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुका रूपमा परिचित रेडपाण्डालाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै इलाम नगरपालिकाले प्रकृति–आधारित पर्यटन विकासका लागि विभिन्न कार्यक्रम अघि बढाउनुपर्छ । रेडपाण्डा पाइने वन क्षेत्र, जैविक विविधता र प्राकृतिक सौन्दर्यलाई जोडेर पर्यटन विस्तार गर्ने प्रशस्त सम्भावना रहेको रेडपाण्डा पर्यटन प्रवद्र्धनमा सक्रिय केचना कंचनजंघा पर्यटन विकास समितिका निवर्तमान संचालक समिति सदस्य सुजन तिमसिनाले बताए ।
उनी भन्छन्–‘पर्यटन प्रवद्र्धनका लागि इलाम नगरपालिकाले सर्वप्रथम रेडपाण्डा पाइने क्षेत्रको पहिचान, संरक्षण र व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।’ रेडपाण्डाको बासस्थान संरक्षण गर्दै पर्यटकलाई अवलोकनको अवसर प्रदान गर्न सकिने गरी इको–ट्रेल तथा प्रकृति पदमार्ग निर्माण गर्नुपर्ने तिमसिनाको सुझाव छ ।
त्यसैगरी, रेडपाण्डा केन्द्रित पर्यटन प्याकेज तयार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । रेडपाण्डा अवलोकन, वन भ्रमण, स्थानीय संस्कृति, जैविक कृषि र होमस्टेलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गर्नुपर्ने तिमसिनाको सुझाव छ । स्थानीय समुदायलाई संरक्षण र पर्यटन व्यवसायसँग जोड्नु अर्को महत्वपूर्ण पक्ष हो । स्थानीय युवालाई प्रकृति पथप्रदर्शक (नेचर गाइड) का रूपमा तालिम प्रदान गर्ने, होमस्टे सञ्चालनमा प्रोत्साहन गर्ने तथा रेडपाण्डा संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
यसका अतिरिक्त, रेडपाण्डालाई इलामको पर्यटन ब्रान्डका रूपमा स्थापित गर्न आवश्यक देखिन्छ । रेडपाण्डा महोत्सव, फोटो प्रतियोगिता, वृत्तचित्र निर्माण तथा डिजिटल माध्यमबाट प्रचार–प्रसार गरी इलामलाई ‘रेडपाण्डाको गन्तव्य’का रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउनुपर्ने रेडपाण्डामा सक्रिय दिपज्योती युवा क्लबका अध्यक्ष सुनिल बान्तवा राईले बताए ।
उनका अनुसार रेडपाण्डाको संरक्षण र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउन सके इलाम नगरपालिकाले जैविक विविधताको संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा इलामको पर्यटन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्न सक्नेछ ।