Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाद्वारा पत्रकार सविता पाण्डे सम्मानित

इलाम नगरपालिकाद्वारा पत्रकार सविता पाण्डे सम्मानित

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ८ २०८३


इलाम नगरपालिकाद्वारा पत्रकार सविता पाण्डे सम्मानित

इलाम । इलाम नगरपालिकाले १८ औँ नगरसभाको अवसरमा सञ्चार क्षेत्रमार्फत समाजमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार सविता पाण्डेलाई सम्मान तथा पुरस्कृत गरेको छ। नगरसभाको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बूले पाण्डेलाई नगद २१ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरे ।

इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालका अनुसार पत्रकारिता क्षेत्रमार्फत वातावरण संरक्षण, महिला सचेतना अभिवृद्धि तथा समाजको आर्थिक–सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पाण्डेलाई सम्मान गरिएको हो।

२०६४ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पाण्डेले नागरिकलाई सूचनाको हकबाट सुसूचित गराउने कार्यमा सिर्जनशील तथा उत्कृष्ट पत्रकारको भूमिका निर्वाह गर्दै आएकी छन् । पाण्डेले २०६४ सालदेखि नेपालवाणी एफएमबाट पत्रकारिता यात्रा सुरु गरेकी हुन् । पाण्डेले स्थानीय मुद्दा, विकास, शिक्षा, कृषि तथा सामाजिक सरोकारका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएकी छन् ।

महिला, दलित तथा पछाडि परेका समुदायका मुद्दामा केन्द्रित रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएकी पाण्डेले इलामका अग्रणी महिला व्यक्तित्वहरू सरस्वती राई, जसोदा खाकी र विष्णु दाहालको योगदानबारे खोज तथा अनुसन्धानात्मक कार्यसमेत गरेकी छन् ।

कार्यक्रममा पत्रकारिता क्षेत्रसँगै शिक्षा, खेलकुद, सामाजिक सेवा तथा सार्वजनिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउने सात जना व्यक्ति र दुई वटा संस्थालाई नगदसहित सम्मान गरिएको थियो। यसैगरी इलाम नगरपालिकाका कर्मचारी, अनिवार्य अवकाश प्राप्त शिक्षक, उत्कृष्ट शिक्षक, उत्कृष्ट निजी तथा सामुदायिक विद्यालय तथा शैक्षिक सत्र २०८१ र २०८२ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई समेत नगदसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विभिन्न क्षेत्रका प्रतिभा, कर्मशील व्यक्तित्व तथा संस्थाहरूको योगदानको कदर गर्दै सम्मान गर्ने परम्पराले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ। यसैबीच इलाम नगरपालिकाको १८ औँ नगरसभाको अधिवेशन भोलिदेखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार