चुलाचुली । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चुलाचुली ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालयमा स्थानीय उपभोक्ताले गरेको तालाबन्दी सहमतिपछि खुलेको छ। जेठ २२ गतेदेखि जारी तालाबन्दी सोमबार बिहान सबै पक्षबीच सहमति भएपछि खोलिएको हो। विद्युत् सेवा प्रवाहमा गुणस्तर कायम गर्न नसकेको, सेवा सुधारभन्दा नाफामुखी बनेको तथा उपभोक्ताले अपेक्षा गरेअनुसार सेवा नपाएको आरोप लगाउँदै स्थानीयले सहकारी कार्यालयमा तालाबन्दी गरेका थिए।
सहकारीका अध्यक्ष जीवन अधिकारीले भने संस्था आफ्नो क्षेत्राधिकारभित्र रहेर निरन्तर सेवा प्रवाहमा सक्रिय रहेको र सीमित व्यक्तिको स्वार्थका कारण संस्थामाथि अनावश्यक आरोप लगाउँदै तालाबन्दी गरिएको बताउँदै आएका थिए। विवाद समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको समेत भूमिका आवश्यक रहेको संस्थाको धारणा थियो। सोमबार बिहान स्थानीय बासिन्दा, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि, जनप्रतिनिधि तथा सहकारीका पदाधिकारीबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्दै तालाबन्दी खोलिएको हो।
सहमतिअनुसार सहकारीले विद्युत् सेवाको गुणस्तर सुधार गर्न आवश्यक पहल गर्नेछ। त्यसैगरी सहज विद्युत् आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् पोल, तार तथा ट्रान्सफर्मरको स्तरोन्नति र मर्मतसम्भार गर्ने सहमति भएको छ। सेवा सुधारका लागि आवश्यक सहयोग र सहजीकरण स्थानीय उपभोक्ताले पनि गर्ने सहमतिमा उल्लेख गरिएको छ।
चुलाचुली गाउँपालिका–२ मा विद्युत् आपूर्ति सहकारीमार्फत हुँदै आएको छ भने अन्य वडामा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत सेवा प्रदान गरिँदै आएको छ। ग्रामीण क्षेत्र भएकाले सम्बन्धित निकायको प्रभावकारी निगरानी अभाव, पूर्वाधारको कमजोरी तथा विभिन्न प्राविधिक कारणले विशेषगरी गर्मीयाममा विद्युत् कटौतीको समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दाले विद्युत् आपूर्तिको दीर्घकालीन सुधारका लागि सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।