Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिभ टुरिजम मिट’ सुरु

इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिभ टुरिजम मिट’ सुरु

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २३ २०८३


इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिभ टुरिजम मिट’ सुरु

इलाम : पूर्वी नेपालको दिगो तथा जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा दुईदिने केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट’ आजदेखि सुरु भएको छ। इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा सुरु भएको सम्मेलनको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गरेका हुन्।

कार्यक्रम उद्धघाटन गर्दै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइने बताएका छन्। मन्त्री पराजुलीले सीमित स्रोतसाधनका बाबजुद सरकारले अघि सारेका पर्यटनसम्बन्धी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए

नगर पर्यटन प्रवर्द्धन समिति अध्यक्ष सुशीला सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा इलाम नगरपालिकाका प्रमुख केदार थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवीप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा चार जिल्लालाई लक्षित गरी सीमापार पर्यटन (क्रस बोर्डर टुरिजम० लाई थप प्रभावकारी र उद्देश्यपूर्ण बनाउने विषयमा जोड दिइएको थियो। सो अवसरमा पर्यटन प्रवर्द्धक तथा वातावरण संरक्षक राज बसुलाई सम्मान गरिएको थियो। कार्यक्रममा इलाम–१ का निर्वतमान सांसद महेश बस्नेतले समेत मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनअन्तर्गत ड्राइभर पोटर क्लबको आयोजनामा माईपोखरीसम्म ल्यान्डरोभर र्‍याली सम्पन्न भएको छ। साथै प्याब्सन इलामको आयोजनामा चित्रकला प्रतियोगिता पनि सञ्चालन गरिएको छ। ‘आरोग्य वर्ष २०८७ र इलामको अन्तरसम्बन्ध’ विषयमा होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० टेक महतले कार्यपत्र प्रस्तुत गरेका थिए।

पहिलो दिनको कार्यक्रममा रेड पाण्डा नेटवर्क इलामका संयोजक राम रिमालले ‘केचना–कञ्चनजङ्घा करिडोरमा रेडपाण्डाको अवस्था’ विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै ‘सीमापार पर्यटनः स्थानीयदेखि वैश्विक अवसरहरू’ विषयक सामूहिक छलफलमा राज बसु, विजय गदाली, विजय झुमझुम तथा केदार शर्माको सहभागिता रहेको छ। उक्त सत्रको सहजीकरण लोकल सन्देशका प्रधान सम्पादक एवम पर्यटन पत्रकार सुजन तिम्सिनाले गरेका छन्।

यसैगरी लेखक तथा पर्यटन व्यवसायी वासुदेव बरालको कृति ‘कोशी गन्तव्य, अनुभव र सम्भावना’ मा आधारित ‘आकाश जाने बाटो’ र ‘सुन्तलामुनिको डिनर’ विषयमा साहित्यकार प्रकाश थाम्सुहाङले परिचर्चा गरेका छन्। सम्मेलनस्थलमा महिला उद्यमी सङ्घले १५ वटा प्रदर्शनी स्टल सञ्चालन गरेको छ।

आयोजकका अनुसार दोस्रो दिन वन्यजन्तु विज्ञ नेत्र कार्कीले ‘बीटुबी’, प्रोफेसर निरोज श्रेष्ठले ‘हस्पिटालिटी’, प्राध्यापक राजेन्द्र बरालले ‘पर्यटनमा जिम्मेवारीता’ तथा भारतका सेफ साइकुमार शर्माले ‘पाककला’ विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।

त्यस्तै ‘पर्यटनमा हरित लगानीः दिगो पर्यटनका लागि वित्तीय साझेदारी’ विषयमा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, नाट्टा कोशीका अध्यक्ष पुन्य भट्टराई, उद्योग वाणिज्य सङ्घ कोशीका पर्यटन विभाग अध्यक्ष भबेस श्रेष्ठ, होटल एसोसिएसन कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी सङ्घ कोशीका अध्यक्ष राजन दङ्गाल तथा जिल्ला सहकारी सङ्घ इलामका अध्यक्ष लिलाप्रसाद थापाबीच छलफल हुनेछ। उक्त सत्रको सहजीकरण पत्रकार सुदीप श्रेष्ठले गर्नेछन्।

त्यसैगरी ‘केचनादेखि कञ्चनजङ्घाः होचोदेखि अग्लो पर्यटकीय करिडोर र नेपाल सरकारको नीति’ विषयमा प्रतिनिधिसभा सदस्यहरू निश्कल राई, नरेन्द्र केरुङ र तिलकुमार मेन्याङ्बोबीच विशेष छलफल हुनेछ। कार्यक्रमको सहजीकरण पत्रकार भीम चापागाईंले गर्नेछन्।

सम्मेलनमा जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफल, पूर्वी नेपालको भूगोल झल्काउने ‘ल्यान्डस्केप ग्यालरी’, तस्बिर तथा श्रव्यदृश्य प्रदर्शनी, स्थानीय कला तथा सांस्कृतिक प्रस्तुति, हस्तकला प्रदर्शनी तथा इलामेली परिकारको प्रदर्शनी एवं बिक्री कक्ष सञ्चालन गरिएको छ। साथै सहभागीहरूका लागि माईपोखरी, छिन्टापु र सन्दकपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणको व्यवस्था गरिएको छ।

आयोजकले सम्मेलनबाट पूर्वी नेपालको पर्यटन विकासका लागि दीर्घकालीन रणनीति तय हुने अपेक्षा गरेको छ। साथै श्रीअन्तु, कन्याम, कालपोखरी, गुफापाताल, गजुरमुखी, माङमालुङ, भालुढुङ्गा र कुइभिरजस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार