इलाम । इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरमा सवारी चालक तथा यातायात व्यवसायीसँग पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पर्यटन कार्यालय काँकडभिट्टाको आयोजनामा वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सवारी चालकको भूमिका, पर्यटकमैत्री सेवा तथा विदेशी पर्यटकको आगमनसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराई र सागर शिवाकोटीले प्रशिक्षण दिएका थिए। शिवाकोटीले पर्यटक, चालक तथा यातायात व्यवसायीबीचको अन्तरसम्बन्ध र पर्यटन प्रवर्द्धनमा चालकहरूले खेल्न सक्ने भूमिकाबारे प्रस्तुति दिएका थिए।
भट्टराईले अध्यागमन कार्यालयले प्रदान गर्ने सेवा तथा विदेशी पर्यटकहरूले नेपाल प्रवेश गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी गराएका थिए। पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जन प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको सञ्चालन पर्यटन कार्यालयका पर्यटन अधिकृत निरोज कट्टेलले गरेका थिए। कार्यक्रममा वडा सदस्य चन्द्रकला खत्री, पशुपतिनगर जिप तथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष मिलन क्षेत्री पर्यटन कार्यालयका लेखा अधिकृत इश्वरी प्रसाद पौडेलको समेत आतिथ्यता रहेको थियो।
अन्तरक्रियामा पशुपतिनगर क्षेत्रका २० भन्दा बढी सवारी चालक तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।