इलाम । महानायक राजेश हमालले सीमासम्बन्धी बहसमा प्रायः एउटै अर्थमा प्रयोग हुने ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ बीच स्पष्ट भिन्नता रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सीमापार अतिक्रमण (Cross Boarder Occupation) प्रायः स्थानीय नागरिकमा देखिने समस्या भएको उल्लेख गरेका छन्।
उनका अनुसार खुला सीमा, नदीको धार परिवर्तन, सीमा स्तम्भको क्षति, बस्ती विस्तार तथा ऐतिहासिक सामाजिक सम्बन्धका कारण यस्ता विवाद उत्पन्न हुने गर्छन्। यस्ता घटनामा राज्यको औपचारिक नीति वा रणनीति संलग्न नहुने भएकाले संवाद, संयुक्त नापजाँच र आपसी सहकार्यबाट समाधान खोज्न सकिने उनको भनाइ छ। तर राज्य–प्रायोजित भू–अतिक्रमण (State-Sponsored Territorial Encroachment) भने पूर्णतः फरक प्रकृतिको विषय भएको हमालले उल्लेख गरेका छन्।
उनका अनुसार कुनै राष्ट्र स्वयं विवादित भूभागमा प्रशासनिक संरचना स्थापना गर्ने, सडक तथा पूर्वाधार निर्माण गर्ने, सुरक्षा निकाय परिचालन गर्ने, सरकारी नक्सा संशोधन गर्ने तथा आफ्नो कानुनी–प्रशासनिक अधिकार लागू गर्ने प्रक्रियामा संलग्न हुँदा त्यसलाई राज्य–प्रायोजित भू–अतिक्रमणका रूपमा बुझ्नुपर्छ।
उनले नेपाल–भारत सीमा विवादसँग सम्बन्धित कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई यस्तो बहसको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। हमालले सीमा विवादजस्ता संवेदनशील विषयमा तथ्य, इतिहास र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा बहस हुनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार स्थानीय प्रकृतिका सीमा समस्या र राज्यस्तरबाट हुने भू–नियन्त्रण विस्तारका प्रयासलाई एउटै दृष्टिकोणबाट हेर्दा वास्तविक समस्या पहिचान गर्न कठिन हुने तथा समाधान प्रक्रिया समेत प्रभावित हुन सक्छ।