सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट उत्तर–पश्चिम दिशामा अवस्थित माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५।५ किलोमिटर उत्तरतर्फ रहेको रमणीय पर्यटकीय गन्तव्य हो– थुम्केरानी। यहाँ पुग्ने जो–कोहीले जीवनमा विरलै प्राप्त हुने आनन्द र आत्मिक सन्तुष्टि अनुभव गर्न सक्छ। त्यसैले थुम्केरानीलाई एक पटक अवश्य पुग्नुपर्ने गन्तव्यका रूपमा लिन सकिन्छ।
कसरी पुग्ने थुम्केरानी ?
फिक्कल बजारबाट नयाँबजारसम्म पुग्नका लागि पर्याप्त सार्वजनिक सवारीसाधन उपलब्ध छन्। आफ्नै सवारीसाधन भए यात्रा झन् सहज हुन्छ। सूर्योदय नगरपालिकाको बरबोटेबाट रम्फोक–ढोडे हुँदै साघुँबेसी पुगिन्छ। साघुँबेसीमा केही समय विश्राम गरी स्थानीय चियाको स्वाद लिन सकिन्छ। भौगोलिक बनोटले अत्यन्तै सुन्दर बनेको साघुँबेसी र त्यसको काखैबाट बग्ने जोगमाई खोलाले यात्रुलाई विशेष आनन्द प्रदान गर्छ।
यात्रा जति उकालो चढ्दै जान्छ, प्रकृतिका नयाँ–नयाँ दृश्य र अनुभूतिहरूले मन लोभ्याउँदै लैजान्छन्। नयाँबजार पुग्दा प्रकृतिले सजाएको सफा र व्यवस्थित बजारले न्यानो स्वागत गर्छ। बजार स्थापनाका लागि यति उपयुक्त स्थान छनोट गर्ने तत्कालीन अग्रजहरूलाई सम्झँदा सम्मान व्यक्त नगरी रहन सकिँदैन।
नयाँबजारबाट सोलिङ गरिएको उकालो सडक हुँदै थुम्केरानीको यात्रा सुरु हुन्छ। नियमित सार्वजनिक सवारीसाधन भने उपलब्ध छैनन्, तर आवश्यकताअनुसार सवारी रिजर्भ गरेर जान सकिन्छ। घना जंगलको बाटो हुँदै उकालो चढेपछि अन्ततः थुम्केरानी पुगिन्छ।
थुम्केरानीमा के–के हेर्ने ?
थुम्केरानी सबै उमेर समूह र विभिन्न रुचिका पर्यटकका लागि उपयुक्त गन्तव्य हो। थुम्केरानी क्षेत्रमा रहेका दुई विशाल ढुङ्गा र पुरानो गुम्बाले यस स्थानलाई ऐतिहासिक महत्त्व प्रदान गरेका छन्। जौबारी जाने बाटोमै रहेका ती ढुङ्गाहरू किराँत सभ्यता तथा बौद्ध धर्म दुवैसँग सम्बन्धित मानिन्छन्। स्थानीयवासीका अनुसार नजिकैको ऐतिहासिक गुम्बा बौद्ध धर्मसँग सम्बन्धित छ भने ती ढुङ्गाहरू किराँत संस्कृतिमा विशेष धार्मिक र सांस्कृतिक महत्त्व राख्छन्।
ती ढुङ्गाहरूमा कुँदिएका अक्षरहरू कहिले र कसले लेखे भन्ने विषय अझै अनुसन्धानको विषय बनेको छ। त्यसैले इतिहास र पुरातत्त्वमा रुचि राख्नेहरूका लागि यो क्षेत्र उत्कृष्ट अध्ययनस्थल बन्न सक्छ। थुम्केरानी क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। यहाँ विभिन्न प्रकारका दुर्लभ तथा औषधीय गुण भएका वनस्पतिहरू पाइन्छन्।
विशेषगरी सतुवा जस्ता बहुमूल्य औषधीय वनस्पति यहाँ प्रशस्त पाइन्छन्, जसको आर्थिक तथा औषधीय महत्त्व निकै उच्च छ। यस क्षेत्रका वनस्पतिहरूको वैज्ञानिक अध्ययन र उपयोग गर्न सके स्थानीय स्तरमै औषधि उत्पादन तथा आयआर्जनका सम्भावना बढ्न सक्छन्।
स्थानीय रूपमा चर्चित ‘निसा झार’ नामक वनस्पति पनि यस क्षेत्रमा पाइन्छ। पुराना पुस्ताका मानिसहरूका अनुसार यसको प्रभावले मानिसहरू केही समयसम्म दिशाभ्रमित हुने गर्दथे। यस्ता वनस्पतिको वैज्ञानिक अध्ययन अझै आवश्यक रहेको देखिन्छ।
थुम्केरानीको प्राकृतिक सौन्दर्य शब्दमा वर्णन गर्न कठिन छ। घना जंगलको बीचमा लुकेको यो क्षेत्र साना–साना डाँडाकाँडाले सजिएको छ। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्त मनमोहक देखिन्छ। नजिकै देखिने हिमशृङ्खला, तल फैलिएको तराईको दृश्य, वरिपरिका पहाडी बस्ती तथा रंगीन जस्तापाताले छाएका घरहरूले पर्यटकलाई मोहनी लगाउँछन्। साँझपख तराईका क्षेत्रमा टल्किने बत्तीहरूको दृश्य झन् मनमोहक हुन्छ।
थुम्केरानीमा रहेको नागथान, नागपोखरी र नागढुङ्गाको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि विशेष रहेको छ। स्थानीय जनविश्वासअनुसार नागथानमा रहेका वस्तुहरू अनुमति बिना लैजान खोजेमा पुनः त्यही स्थानमा फर्काइदिने विश्वास गरिन्छ। सन्तान प्राप्तिको कामना गर्नेहरूका लागि पनि यो स्थान आस्थाको केन्द्र मानिन्छ।
सन्दकपुर–जौबारी जाने प्रवेशद्वार
थुम्केरानी सन्दकपुर, जौबारी, तुम्लिङ, मेघ्मा तथा चित्रे गुम्बा जाने पर्यटकहरूको स्वागतद्वार पनि हो। नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेका यी गन्तव्यहरू प्राकृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छन्। विशेषगरी मेघ्मा गुम्बाको इतिहास निकै पुरानो मानिन्छ। कतिपयले यसलाई १६औँ शताब्दीमा निर्माण गरिएको बताउने गरेका छन्।
गेजिङ, दुर्विन, फेन्सोङ र मेघ्मा गुम्बाहरू एउटै कालखण्डमा निर्माण भएका तथा एउटै रेखामा अवस्थित रहेको स्थानीय मान्यता छ।थुम्केरानी परिवारसहित घुम्न जाने उत्कृष्ट गन्तव्य हो। यहाँ पिकनिक आयोजना गर्न सकिन्छ। नवविवाहित जोडीहरूका लागि पनि यो शान्त र रमणीय वातावरणयुक्त स्थान उपयुक्त मानिन्छ। विदेशी गन्तव्य खोज्नुभन्दा आफ्नै गाउँठाउँका यस्ता सुन्दर स्थलहरूको भ्रमण अझ स्मरणीय बन्न सक्छ।
कहाँ बस्ने ?
थुम्केरानीमा बसोबासका लागि राम्रो व्यवस्था उपलब्ध छ। लामो समय बैंकिङ क्षेत्रमा सेवा गरेर अवकाश प्राप्त गरेपछि पर्यटन व्यवसायमा लाग्नुभएका लिलाबल्लभ आचार्यको समूहले सञ्चालन गरेको थुम्के रिसोर्ट यहाँको प्रमुख आवासीय केन्द्र हो। रिसोर्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोदोको ढिँडो, सिस्नोको दाल, आलुको तरकारी, भालुचिण्डेको अचार, मालिङ्गोको टुसा लगायतका स्वादिष्ट तथा पौष्टिक परिकारहरू उपलब्ध गराउँछ।
करिब ४० जनासम्म अट्ने क्षमताको रिसोर्टले राम्रो सेवा प्रदान गर्दै आएको छ। यहाँ भ्यू टावर निर्माणको काम भइरहेको छ भने बालबालिकाका लागि पिङ तथा अन्य खेल सामग्रीको व्यवस्था गरिएको छ। आगामी दिनमा पोखरी र जिपलाइन सञ्चालन गर्ने तयारी समेत भइरहेको छ।
थुम्केरानी इलामका सुन्दर, ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण गन्तव्यहरूमध्ये एक हो। यहाँको अनुपम सौन्दर्य, शान्त वातावरण, जैविक विविधता र सांस्कृतिक महत्त्वले जो–कोहीलाई आकर्षित गर्छ। समय निकालेर एक पटक थुम्केरानी पुग्न सकियो भने त्यो यात्रा जीवनको अविस्मरणीय अनुभव बन्नेछ।