इलाम । गाउँका धुलाम्मे मैदानमा नाङ्गो खुट्टाले दौडने विद्यार्थीका लागि राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय खेलकुदसम्म पुग्ने सबैभन्दा ठूलो सपना हो । विद्यालयको खेल मैदानबाट सुरु भएको यात्रा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलीसम्म पुग्ने आशा यस प्रतियोगितामा हुन्छ ।
धेरै विद्यार्थीका लागि रनिङ शिल्ड केवल प्रतियोगिता मात्र नभई आफ्नो प्रतिभा चिनाउने दुर्लभ अवसर पनि हो । तर १६ वर्षको अभ्यासलाई हेर्दा राष्ट्रपति रनिङ शिल्डले बोकेको उद्देश्य र वास्तविक उपलब्धिबीचको दूरी बढ्दै गएको देखिन्छ ।
विद्यालय तहका प्रतिभावान खेलाडी पहिचान गरी राष्ट्रिय खेलकुदको आधार तयार गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको प्रतियोगिता अधिकांश स्थानमा औपचारिक कार्यक्रममै सीमित भएको गुनासो बढ्दो छ ।
प्रतियोगिता हुन्छ, उद्घाटन र समापन समारोह सम्पन्न हुन्छन्, पदक तथा प्रमाणपत्र वितरण गरिन्छ, समाचार प्रकाशित हुन्छन् । तर त्यसपछि ती खेलाडी कहाँ पुगे, कसरी अघि बढे र उनीहरूको खेल जीवन कता मोडियो भन्ने विषयमा कुनै प्रभावकारी अनुगमन देखिँदैन ।
गत वर्ष माई नगरपालिकाले १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको थियो । त्यसपछि १६औँ संस्करण आयोजना गर्ने जिम्मेवारी सूर्योदय नगरपालिकाले लिएको थियो । तर निर्धारित समयमा प्रतियोगिता हुन सकेन । माघ–फागुनमा सम्पन्न हुनुपर्ने प्रतियोगिता स्थानीय तह निर्वाचन र प्रशासनिक अन्योलका कारण प्रभावित बन्यो ।
कोशी प्रदेशले जेठ १७ र १८ गते प्रदेशस्तरीय प्रतियोगिता गर्ने निर्णय गरेपछि इलाममा हतारहतार जिल्ला छनोट सम्पन्न गरिएको छ । १४ गते परिपत्र प्राप्त भएपछि १५ गते स्थानीय तहलाई जानकारी गराएर १६ गते नै इलाम नगरपालिका–७ मा एक दिने तयारीमा खेलाडी छनोट गरिएको थियो ।
सूर्योदय नगरपालिकाका खेलकुद संयोजक मणि गुरुङ समय अभावले प्रभावकारी रूपमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको स्वीकार गर्छन् । “१४ गते जानकारी गराएर १६ गते १० वटै पालिकालाई सहभागिता गराउन सम्भव हुँदैन । खेलाडी व्यवस्थापन, आवास र मैदान तयारी दुई दिनमै कसरी गर्न सकिन्छ ? कर्मकाण्डी रूपमा राष्ट्रपति रनिङ शिल्डको जिल्ला छनोट गर्न नसकिने भएकाले आयोजना गरिएन् ।” उनले भने ।
यो समस्या इलामको मात्र होइन, कोशी प्रदेशका अधिकांश जिल्लाले भोगेको साझा समस्या हो । नियमित समयमा प्रदेशका नौ जिल्लाले मात्र छनोट सम्पन्न गर्न सकेका छन् । बाँकी जिल्लाले प्रक्रिया पूरा गर्न मात्र हतारहतार प्रतियोगिता आयोजना गरेका छन् । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष पनि समय अभावलाई मुख्य चुनौती मान्छन् ।
“राष्ट्रिय खेलकुद परिषद्सँग पाँच दिन समय थप माग्दा पनि पाइएन । पदभार ग्रहण गरेलगत्तै सम्पन्न हुन नसकेका पाँच जिल्लालाई पत्राचार गरेर छनोट प्रक्रिया अगाडि बढाउनुप¥यो,” घोषले बताए । उनले खेलाडीहरु हतोत्साहित नहुन भनेर नै छोटो तयारीमै भएपनि प्रदेश स्तरिय र राष्ट्रिय स्तरमा सहभागिता जनाउन लागिएको बताए ।
उनका अनुसार जेठ १८ गतेभित्र प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गरी सोही दिन राष्ट्रिय प्रतियोगिताका लागि टोली बिदाइ गर्ने कार्यतालिका बनाइएको छ । हरेक वर्ष हजारौँ विद्यार्थी दौड, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो लगायतका खेलमा प्रतिस्पर्धा गर्छन् । केहीले स्वर्ण जित्छन्, केहीले रजत र कांस्य पदक हात पार्छन् । तर अधिकांश खेलाडीको यात्रा त्यहीँ समाप्त हुन्छ ।
खेलाडीको अभिलेख राख्ने, नियमित प्रशिक्षण दिने, पोषण व्यवस्थापन गर्ने वा उच्चस्तरीय प्रतियोगितासम्म पु¥याउने संरचना अझै प्रभावकारी रूपमा विकास हुन सकेको छैन । खेलकुद विज्ञहरूका अनुसार कुनै पनि खेलाडीलाई राष्ट्रिय स्तरमा पुग्न कम्तीमा पाँचदेखि सात वर्षसम्म निरन्तर प्रशिक्षण आवश्यक हुन्छ । तर नेपालमा तीन–चार दिनको प्रतियोगितालाई नै खेल विकासको आधार मान्ने प्रवृत्ति बलियो देखिन्छ ।
स्थानीय तहहरूले प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्डका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गर्छन् । तर बजेटको ठूलो हिस्सा प्रतियोगिता सञ्चालन, मञ्च व्यवस्थापन, प्रचारप्रसार, ब्यानर तथा औपचारिक कार्यक्रममा खर्च हुने गरेको देखिन्छ । खेलाडीका लागि आवश्यक प्रशिक्षण सामग्री, खेल पोशाक, प्रशिक्षक तथा नियमित अभ्यास कार्यक्रम भने प्राथमिकतामा पर्न सकेका छैनन् ।

आर्थिक वर्ष २०८०÷८१ को बजेटलाई हेर्दा युवा तथा खेलकुद मन्त्रालयबाट मात्र पनि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७ करोड ५३ लाख रुपैयाँ, जिल्ला स्तरीय प्रतियोगिताका लागि ३ करोड २४ लाख रुपैयाँ र प्रदेश स्तरीय प्रतियोगिताका लागि १ करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यी तीन तहमा मात्रै कुल १२ करोड ३१ लाख रुपैयाँ खर्च हुने व्यवस्था गरिएको देखिन्छ । रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो संघ र प्रदेश सरकारले बिनियोजन गरेको रकमले स्थानीय तह स्तरिय राष्ट्रपति रनिङ शिल्ड संचालन गर्न सम्भव नभएको बताउँछन् ।

सूर्योदय नगरपालिकाको बजेट चालु आर्थिक बर्ष
१६ औ राष्ट्रपति रनिङ शिल्ड आयोजनाका लागि सूर्योदय नगरपालिकाले चालु आर्थिक बर्षमा १३ लाख रुपैया विनियोजन गरेको थियो । सूर्योदयले विनियोजन गरेको बजेटको औषतमा देशभरमा ७५३ स्थानीय तहमा विनियोजन गर्दा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा मात्र १० करोड भन्दा बढि हुन आउँछ । विद्यालय तहको अवस्था अझ चुनौतीपूर्ण छ । धेरै विद्यालयमा पर्याप्त खेल मैदान छैन । खेल शिक्षकको व्यवस्था छैन । नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदैन ।
विद्यार्थीहरूले खेलकुदलाई सम्भावित पेशाको रूपमा भन्दा अतिरिक्त क्रियाकलापका रूपमा मात्र बुझ्ने अवस्था छ । नेपालमा प्रतिभाको अभाव छैन । अभाव छ त अवसर र व्यवस्थापनको । गाउँका विद्यालयमा रहेका सम्भावित राष्ट्रिय खेलाडीहरू उचित प्रशिक्षण र संस्थागत सहयोग नपाउँदा बीचैमा हराइरहेका छन् । राष्ट्रपति रनिङ शिल्डले ती प्रतिभा पहिचान गर्ने काम त गरिरहेको छ, तर उनीहरूलाई गन्तव्यसम्म पु¥याउने दायित्व भने पूरा गर्न सकेको देखिँदैन ।
खेलकुदकर्मीहरूका अनुसार राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी बनाउन प्रतियोगितालाई वार्षिक औपचारिकतामा सीमित राख्न नहुने बताउँछन् । उत्कृष्ट खेलाडीहरूको डिजिटल अभिलेख तयार गर्ने, वर्षभर प्रशिक्षणको व्यवस्था गर्ने, विद्यालयमा प्रशिक्षक नियुक्त गर्ने र खेलकुदलाई शैक्षिक प्रणालीसँग जोड्ने नीति आवश्यक छ ।
धुलाम्मे मैदानमा नाङ्गो खुट्टाले दौडने विद्यार्थीको सपना पदक जितेर मात्र पूरा हुँदैन । त्यो सपना राष्ट्रिय टोलीको जर्सी लगाउँदा पूरा हुन्छ । प्रश्न अब पनि उही छ राष्ट्रपति रनिङ शिल्ड वास्तवमै खेलाडी उत्पादनको आधार बन्ने कि उद्घाटन, समापन र पदक वितरणमा सीमित उपयोगिताविहीन औपचारिकता मात्रै ?