इलाम । परिवारको सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीमा निवेदन परेको केही घण्टामै बिर्तामोडमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका छन्। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलामको फाकफोकथुम गाउँपालिका–३ स्थायी घर भई हाल झापाको बिर्तामोड नगरपालिका–१, ग्रिनफिल्ड स्कुल नजिक बस्दै आएका करिब ४५ वर्षीय रामकुमार थेगिम जेठ १५ गते राति करिब ८ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
उनका आफन्तले जेठ १६ गते दिउँसो करिब २ः५० बजे इलाका प्रहरी कार्यालय अनारमनीमा हुलिया निवेदन दर्ता गराउँदै खोजतलासका लागि अनुरोध गरेका थिए। निवेदन उनका भान्जी दुर्गा खाम्दाकले दिएको प्रहरीले जनाएको छ।
यसैबीच, जेठ १६ गते राति करिब ८ः४५ बजे बिर्तामोड नगरपालिका–३ स्थित आदर्शचोक नजिक सडकछेउमा एक व्यक्ति चिउँडोमा सामान्य चोटपटक लागेर लडिरहेको अवस्थामा रहेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घाइते व्यक्तिको उद्धार गरी तत्काल उपचारका लागि बिर्तामोड नगर अस्पताल पुर्याएको थियो। उपचारका क्रममा उनको अवस्था गम्भीर बन्दै गएको र राति करिब ९ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।
मृतक रामकुमार थेगिम नै रहेको पहिचान भएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।