Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको राकसे घोर्ले भीरमा ट्रक दुर्घटना : चालक र सहचालक घाइते, चालकको अवस्था गम्भीर

इलामको राकसे घोर्ले भीरमा ट्रक दुर्घटना : चालक र सहचालक घाइते, चालकको अवस्था गम्भीर

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १५ २०८३


इलामको राकसे घोर्ले भीरमा ट्रक दुर्घटना : चालक र सहचालक घाइते, चालकको अवस्था गम्भीर

इलाम । इलाम नगरपालिका–११ राकसे घोर्ले भीरस्थित केचना–कञ्चनजंघा भित्री सडकखण्डमा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शुक्रबार राति करिब ८ बजे इलामबाट झापातर्फ जाँदै गरेको मे१ख २२६७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक कुलदिप चन्दको कमाण्डमा ट्राफिकसहित १५ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा ट्रकमा सवार दुवै जनाको उद्धार गरिएको थियो । दुर्घटनामा ट्रक चालक झापाको बिर्तामोड नगरपालिका निवासी अन्दाजी ५६ वर्षीय कमल आचार्य गम्भीर घाइते भएका छन् । उनको टाउको, आँखा, ढाड तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उद्धारपछि उनलाई थप उपचारका लागि झापास्थित बीएन्डसी अस्पताल पठाइएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी सहचालक इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडा निवासी २३ वर्षीय लक्ष्मण राउत पनि घाइते भएका छन् । उनको ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पनि बीएन्डसी अस्पताल झापा रेफर गरिएको प्रहरीले जनाएको छ । सहचालकको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन् ।

दुर्घटनामा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक देबी दत्त मोतेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार