Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माङ्सेबुङमा लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषित

माङ्सेबुङमा लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषित

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १२ २०८३


माङ्सेबुङमा लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषित

इलाम । माङसेबुङ गाउँपालिका ले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ। गाउँपालिकाको २०८३ वैशाख ११ गते सम्पन्न ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार मंगलबारदेखि लिम्बू भाषा कार्यान्वयनमा ल्याइएको हो।  कोशी प्रदेश प्रमुख परशुराम खापुङ को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई ले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरिएको घोषणा गरेका हुन्।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन–२०७४ तथा स्थानीय तहलाई प्राप्त अधिकारअनुसार जातीय बाहुल्यताका आधारमा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरिएको गाउँपालिकाले जनाएको छ। अब गाउँपालिकाअन्तर्गत वडा कार्यालय तथा अन्य सरकारी निकायमा प्रयोग हुने साइनबोर्ड, लेटरप्याड, फारामलगायत सामग्रीमा नेपाली भाषासँगै लिम्बू भाषा तथा किरात सिरिजङ्गा लिपिसमेत प्रयोग गरिनेछ।

गाउँपालिकाका अनुसार बहुसंख्यक लिम्बू समुदायले बोल्ने यो भाषा किरात सिरिजङ्गा लिपिमा लेखिनेछ। घोषणा पश्चात माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच भएको सम्झौतापत्रसमेत लिम्बू भाषा र सिरिजङ्गा लिपिमै तयार पारिएको थियो। सम्झौतापत्रमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयकी प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गरेका थिए।

गाउँपालिका अध्यक्ष राईका अनुसार ‘गाउँपालिकाको भाषा, संस्कृति तथा ललितकलाको संरक्षण तथा विकास कार्यान्वयन निर्देशिका–२०७५’ ले मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ सम्म लिम्बू भाषा तथा किरात सिरिजङ्गा लिपिको पठनपाठन भइरहेको उनले बताए। साथै किरात मुन्धुम अध्ययन–अध्यापन गराउने धार्मिक विद्यालय ‘किरात साम्जिक मुन्धुम युक्सिड निसामहिम’ सञ्चालनमा रहेको र स्थानीय सरकारले मातृभाषा शिक्षकको दरबन्दीसमेत व्यवस्था गरिसकेको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले ७५३ स्थानीय तहमध्ये लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने माङसेबुङ पहिलो गाउँपालिका भएको दाबी गरे। यसअघि माङसेबुङ–५ ले २०७५ मंसिर १३ गते वडा कार्यालयको कामकाजी भाषाका रूपमा लिम्बू भाषा लागू गरिसकेको थियो।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले भाषा, धर्म, संस्कृति र पहिचान नेपालको अमूल्य सम्पत्ति भएको बताए। “फूलबारीमा विभिन्न फूल समान रूपमा फुल्दा बगैंचा सुन्दर बन्छ, त्यसरी नै विविध जाति, भाषा र संस्कृतिको सम्मानले राष्ट्र अझ बलियो बन्छ,” उनले भने। किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले गाउँपालिकाको निर्णयलाई मातृभाषा संरक्षण र प्रवर्द्धनका लागि ऐतिहासिक कदमको संज्ञा दिएका छन्।

कार्यक्रमका अवसरमा राम योङहाङद्वारा लिखित ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी’ पुस्तक तथा बान्तवा भाषा पाठ्यक्रम ९आधारभूत तह० समेत विमोचन गरिएको थियो। लिम्बू भाषा घोषणाको अवसरमा गाउँपालिकाले निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्ष सुनिता सुब्बालाई सम्मान गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले शुभकामना मन्तव्य राखेका थिए । लिम्बू भाषा घोषणाको अवसरमा गाउँपालिकाले निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्ष सुनिता सुब्बालाई सम्मान गरेको छ ।

त्यसैगरी विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी एथ्लेटिक्स खेलाडी पुष्पा शेर्मा र टि–२० दृष्टिविहीन महिला क्रिकेट विश्वकपको उपविजेता टिमकी सदस्य प्रतिभा राईलाई नगद १० हजार सहित सम्मान गरिको थियो । त्यसैगरी कक्षा–१२, एसईई, कक्षा–८ का उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी, लिम्बु भाषा र वान्तवा भाषाका पुस्तक लेखक लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार माङसेबुङ गाउँपालिकाको जनसंख्या १६ हजार ८१० रहेको छ। यहाँ ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार