Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा बृहत् केलाङ प्रदर्शन कार्यक्रम हुँदै

माङसेबुङमा बृहत् केलाङ प्रदर्शन कार्यक्रम हुँदै

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १० २०८३


माङसेबुङमा बृहत् केलाङ प्रदर्शन कार्यक्रम हुँदै

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा बृहत् केलाङ ९च्याब्रुङ नाच० प्रदर्शन कार्यक्रम आयोजना हुने भएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आगामी जेठ १६ गते माङसेबुङ–१ गजुरमुखीमा कार्यक्रम सञ्चालन हुन लागेको हो।

किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ समितिको आयोजनामा तथा माङसेबुङ गाउँपालिका को आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ। लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा केलाङ अर्थात् च्याब्रुङ नाचको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बिपन लिम्बू ले जानकारी दिए।

उनका अनुसार कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। “माङसेबुङमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ,” उनले भने, “यसले लिम्बू समुदायको मौलिक पहिचानलाई थप सशक्त बनाउने विश्वास लिएका छौँ।” कार्यक्रममा इलाम र पाँचथर जिल्लाबाट करिब ५ सय च्याब्रुङ कलाकार सहभागी गराउने तयारी गरिएको छ।

युवापुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने, मौलिक परम्परा संरक्षण गर्ने तथा स्थानीय सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको अध्यक्ष लिम्बूले बताए। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, मौलिक भेषभूषा प्रदर्शन तथा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश गरिनेछ।

लिम्बू समुदायको सांस्कृतिक पहिचानका रूपमा रहेको केलाङलाई माङसेबुङ क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा विशेष महत्वका साथ प्रस्तुत गर्ने गरिन्छ। पछिल्लो समय अन्य समुदायले समेत यस संस्कृतिप्रति चासो देखाउन थालेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार