इलाम । इलामस्थित फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडान सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बनेका छन्। गत पौषदेखि बैशाखसम्मका लागि सार्वजनिक गरिएको २९ वटा उडान तालिकामध्ये हालसम्म एउटा मात्र उडान सम्पन्न भएपछि विमानस्थलको नियमित सेवा लगभग ठप्प बनेको हो।
नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडानलाई प्राथमिकतामा राखेर कार्यतालिका सार्वजनिक गरे पनि अधिकांश उडान मौसम प्रतिकूलता, प्राविधिक समस्या तथा न्यून यात्रु चाप (पुअर लोड) देखाउँदै रद्द गरेको स्रोतले जनाएको छ। लगातार उडान रद्द हुँदा यात्रुहरू वैकल्पिक यातायात प्रयोग गर्न बाध्य भएका छन् भने हवाई सेवाप्रतिको विश्वाससमेत कमजोर बन्दै गएको छ।
एयरलाइन्स निकट स्रोतका अनुसार हाल इलाम उडानको कार्यतालिका नै हटाएर जहाज अन्य गन्तव्यमा केन्द्रित गरिएको छ। यसले सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सिर्जना गरेको स्थानीयको गुनासो छ।
स्थानीय व्यवसायी, पर्यटनकर्मी तथा सेवाग्राहीहरूले नियमित उडान अभावले आकस्मिक यात्रा, स्वास्थ्य उपचार, व्यापारिक गतिविधि र पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर परेको बताएका छन्। विशेषगरी पूर्वी पहाडी जिल्लालाई हवाई सञ्जालसँग जोड्ने अपेक्षासहित निर्माण गरिएको विमानस्थलमा सेवा अनियमित हुँदा राज्यको लगानीमाथि समेत प्रश्न उठ्न थालेको छ।
स्थानीयवासीले सुकिलुम्बा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थायी जहाज व्यवस्थापन, नियमित तालिका कार्यान्वयन तथा यात्रु आकर्षित गर्ने रणनीति आवश्यक रहेको बताएका छन्।