इलाम — रोङ गाउँपालिका–६ स्थित चर्चित पर्यटकीयस्थल झन्डीडाँडा जाने धजे–मनकामना फास्ट ट्र्याक सडक पहिरोका कारण अवरुद्ध बनेको छ। केही दिनअघि परेको अविरल वर्षापछि सडकका विभिन्न खण्डमा पहिरो झरेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको हो।
वडा अध्यक्ष सत्यम राई चौरासे का अनुसार ३–४ दिनदेखि सडक अवरुद्ध रहेको छ। “आज नै सडक खुलाउने तयारी थियो, तर आवश्यक उपकरण अभावका कारण काम हुन सकेन,” उनले भने, “अब भोलीबाट सडक खुलाउने काम सुरु हुन्छ।”
गत पुस १२ गते औपचारिक उद्घाटन गरिएको उक्त सडक सञ्चालनमा आएपछि स्थानीयवासी र पर्यटकलाई ठूलो सहजता भएको थियो। विशेषगरी झन्डीडाँडा तथा रम्भ्याङ क्षेत्रसम्म पुग्न छोटो दूरी र सहज पहुँच बनेको थियो।
यस सडकमार्फत रम्भ्याङ क्षेत्रका काँक्रा, साग, इस्कुसलगायत कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको थियो भने उपभोग्य सामग्री गाउँसम्म पुर्याउन पनि सुविधा पुगेको थियो। साथै शिक्षा, स्वास्थ्य तथा दैनिक कामका लागि स्थानीयलाई बिर्तामोड लगायत पूर्वका प्रमुख सहर पुग्न समय बचत हुने गरेको थियो।
धजे–मनकामना सडकले जौबारी, जिर्मले र कुवापानी क्षेत्रको आवागमनलाई समेत जोड्दै धुलाबारी, बिर्तामोड र चन्द्रगढी सम्मको नयाँ यातायात सञ्जाल निर्माण गरेको थियो। सडक निर्माणका लागि संघीय सरकारअन्तर्गत सडक विभागले वैकल्पिक सहायक राजमार्ग शीर्षकमा आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ५० लाख, २०८०/८१ मा १ करोड र २०७९/८० मा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा २५ लाख रुपैयाँ लगानी गरेको थियो। यो सडकमार्फत धजेदेखि धुलाबारीसम्म करिब ३० किलोमिटर दूरी रहेको छ भने धजे–चन्द्रगढी तथा धजे–बिर्तामोड दूरी करिब ४० किलोमिटर पर्ने गर्दछ।