इलामको माइखोला किनारमा अवस्थित पञ्चकन्या पाथिभरा मन्दिर क्षेत्रमा सञ्चालित श्रीमद् भागवत सप्ताहबाट करिब २० लाख रुपैयाँ संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मेनुका श्रेष्ठ पराजुलीका अनुसार संकलित रकम दाताहरूको सहयोगबाट जुटाइएको हो ।
मन्दिरको दीगो व्यवस्थापन, अक्षयकोष निर्माण तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले पुराणको आयोजना गरिएको थियो । समितिका अध्यक्ष महेन्द्र चौहानले संकलित रकम अक्षयकोषमा राख्दै मन्दिर निर्माण तथा आवश्यक संरचना विकासमा खर्च गरिने जानकारी दिए ।
वैशाख १५ गतेदेखि सुरु भएको सप्ताहमा नेपालका बिभिन्न जिल्ला सहित भारतका दार्जिलिङ, सिक्किम, मिरिक लगायतका स्थानबाट भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहज पहुँचका कारण मेची राजमार्गसँगै जोडिएको यो क्षेत्र भक्तजनका लागि आकर्षणको केन्द्र बनेको देखिएको थियो ।
यद्यपि, बीचबीचमा परेको वर्षा र माइखोला भन्ज्याङको जीर्ण सडक खण्डका कारण केही भक्तजन आउन असहज भएको बताइएको छ । करिब ६ महिना अघि इलाम नगरपालिका ५ बरबोटेकी प्रमिला कार्कीले सपनामा माता देखेपछि सोही स्थानमा गरिएको उत्खननबाट शिला फेला परेपछि यहाँ धार्मिक आस्था तीव्र रूपमा बढ्दै गएको छ ।
त्यसयता विभिन्न धार्मिक गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन्, जसले यस क्षेत्रलाई आस्थाको केन्द्रका रूपमा विकास गरिरहेको छ । माइखोला किनारमा रहेको यस क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले दीर्घकालीन संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिने भएको छ ।
यसका लागि इलाम नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । चिताएको पूरा हुने धार्मिक विश्वाससँगै सपनाबाट सुरु भएको आस्था अहिले हजारौँ भक्तजनको विश्वासमा रूपान्तरण हुँदै गएको पञ्चकन्या पाथिभरा क्षेत्र अब इलामको धार्मिक पर्यटनको नयाँ केन्द्र बन्ने अपेक्षा गरिएको छ ।