Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पथरी–११ लाई हराउँदै रेडहर्स इलाम फाइनलमा प्रवेश

पथरी–११ लाई हराउँदै रेडहर्स इलाम फाइनलमा प्रवेश

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख २४ २०८३


पथरी–११ लाई हराउँदै रेडहर्स इलाम फाइनलमा प्रवेश

इलाम । रेडहर्स फुटबल क्लब इलाम दोश्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा संचालन भइरहेको प्रतियोगितामा इलामले पथरी–११ मोरङलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा विवेक सुनामको फ्रिकिक प्रहारलाई अतिरिक्त खेलाडी सन्देश खवासले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । दोश्रो हाफमा मोरङ खेलमा फर्किएको थियो ।

दोश्रो हाफको २७ औ मिनेटमा मोरङले बराबरी गोल फर्काएको थियो । मदन जवेगुले डिबक्सभित्र मोरङका धिरेन क्षत्रीलाई लडाएपछि पाएको पेनाल्टीलाई सन्जय लिम्बुले गोल गर्दै खेल बराबरी गरे । खेल बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा इलामका सुगम खजुम, मदन जवेगु, विवेक सुनाम र बिनोद धमलाले गोल गरे ।

मोरङका सौर्य राउतको प्रहार मात्र गोलमा परिणत भएको थियो । कप्तान युकेश तामाङको प्रहार क्रम बारमा लागेर बाहिरिएको थियो । धिरेन क्षत्रीको प्रहारलाई इलामका गोलरक्षक निशम दनुवारले बचाएका थिए । खेलको म्यान अफ दि म्याच इलाममा विवेक सुनाम घोषित हुँदै नगद ७ हजार प्राप्त गरे ।

इलाम र मोरङ यसअघि तेश्रो इलाम गोल्डकपको उद्धघाटन खेलमा भिडेका थिए । जुन खेलमा टाइब्रेकरमा मोरङले ४–२ गोल अन्तरको जित निकालेको थियो । इलामले उपाधिको लागि बैशाख २५ गते (भोली) तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । तेह्रथुमले यलम्बर युवा संस्था पाँचथरलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताको बिजेताले ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार